मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

दार्मा गाउँपालिका

श्री राष्ट्रिय माध्यमिक विद्यालय

घोराही उपमहानगरपालिका

टुकुचा खोला

बसाइँसराइ

खडेरीको औषधी पानीका ‘रिचार्ज पोखरी’– घोराही उपमहानगरको कामले यसरी सुधारेकाे छ वातावरण र बस्ती

हाम्रा अरु स्थानीय तहहरुले के सिक्ने ?

Mayorsap

बुध, माघ ९, २०८१ | ११:१४ बजे

काठमाण्डाै । विश्वको सबैभन्दा शक्तिशाली मानिएको देश अमेरिका यस वर्ष डढेलोको सिकारमा पर्यो । एक चर्चित शहर लस एन्जलस नै डढेलोले सखाप पारिदियो । विश्वमा मौसममा आएको फेरबदली र त्यसले निम्त्याउन सक्ने समस्याका रुपमा लस एन्जलसको यो आगलागी मानव जातीले नबुझ्ने हो भने विश्वभर धेरै अप्रत्यासित घटना हुने सम्भावनाहरु छन् । नेपालमा पनि सुख्खा मौसम छ । अनि, अब गर्मी पनि बढ्ने बेला भएको छ । गर्मी बढेसँगै सुख्खा मौसमका कारण नेपालमा पनि बन जंङ्गलमा आगलागी हुने सम्भावना अधिक रहन्छ । त्यो आगलागी मानव बस्तीमा पनि पसिहान्छ । सुख्खा तथा खडेरी घट्नेभन्दा बढ्ने क्रममा छ ।

 

नेपालको खाद्य उत्पादन पनि मौसमको भरमा लगाइन्छ । तर पछिल्लो समय मौसममा आएको फेरबदलीले पहिलाजस्तो जमिनमा उत्पादन हुने बालीहरुमा  सिँचाई सुविधा पनि प्राप्त हुँदैन । उत्पादनमा स्थिरता छैन । कहिले सुख्खा बढेर खडेरी हुन्छ त कहिले अधिक वर्षा भएर समस्या निम्त्याउँछ । प्राकृतिक विपत्तिलाई रोक्न नसके पनि क्षतिलाई कम गर्न र पूर्व तयारी गर्न सकिन्छ । त्यसका लागि स्थानीय तहहरुले अझ राम्रा कार्यक्रम तथा योजनाहरु लागू गर्न सक्छन् । स्थानीय तहहरुको नेतृत्वमा सक्षम जनप्रतिनिधि र कर्मचारी हुने हो भने प्रकृतिक रुपमा आउने विपत्तिले मानवीय र भौतिक क्षति न्युन गर्छ ।

नेपालमै गएको असोज ११ र १२ गतेको अधिक वर्षाको बितण्डालाई हेर्ने हो भने पनि पूर्वतयारी र प्राकृतिक स्रोतसाधनको उचित प्रयोगमा हामी कमजोर भएको प्रष्ट देखिन्छ । केही पूर्व तयारी र प्राकृतिक स्रोत साधनको सही उपभोग गरेको भए सायद नेपालले गएको असोजमा त्यति धेरै नोक्सान भोग्नुपर्ने थिएन । अब खडेरीको समय छ । यो खडेरीको समयमा पनि नेपालले क्षति ब्यहोर्नुपर्ने पक्का छ । देशमा विकासका योजनाहरु सही तरिकाले सञ्चालन नहुँदा, व्यवस्थित बस्ती नबनाउँदा र प्राकृतिक स्रोतको सही ठाउँमा सही प्रयोग नहुँदा खडेरी र बर्खा दुवै समयमा नेपालले धेरै नोक्सान भोगेकै छ । यस्ता नोक्सानबाट बचाउन नेपालमा केही पालिकाहरुले उदाहरणीय कामहरु पनि गरेका छन् ।

 

ती स्थानीय तहहरुले लागू गरेका कार्यक्रमहरुलाई हेर्ने हो भने प्राकृतिक स्रोतहरुलाई व्यवस्थित रुपमा उपभोग गर्न सकिन्छ भनेर बुझ्न कुनै ठूला ठूला हलमा गोष्ठी गर्नैपर्दैन । नवलपरासीको रामग्राम नगरपालिकाले ‘रिचार्ज पोखरी’का रुपमा केही पानीका पोखरीहरु निर्माण गरेको छ । 

बर्खामा बगेर जाने पानीलाई जमाएर पालिकाले पानीको अभावका बेला कृषकलाई पानीको उपभोग गर्ने व्यवस्था मिलाएको छ । त्योभन्दा गज्जव चाहिँ दाङको घोराही उपमहानगरनगरपालिकाले बनाएका ‘रिचार्ज पोखरी’ रहेछ । उपत्यकामा रहेको घोराही उपमहानगरपालिकाले आफ्नो पालिकाभर थुप्रै पानी सिञ्चित पोखरी निर्माण गरेको छ । उपत्यका भएका कारण पानीको स्रोतका रुपमा खोलानाला कम रहेका छन् । सबै ठाउँमा खोलाको पानी जाने सम्भावना पनि हुँदैन । बर्खाको समयमा पानी भए पनि त्यसले एक मौसममा मात्रै काम दिने अवस्था छ । त्यसैले घोराही उपमहानगरपालिकाले बगेर खेर जाने पानीलाई ‘रिचार्ज पोखरी तथा ड्याम’ निर्माण गरेर व्यवस्थित गरेको छ । पालिकाभर ४० भन्दा बढी रिचार्ज पोखरीहरु बनाइएका छन् । ती पोखरीहरु साना छैनन् र कुनै प्राकृतिक तालभन्दा कम पनि छैनन् । पालिकाले बनाइएका ड्याम तथा रिचार्ज पोखरीबाट सबैभन्दा बढी कृषकलाई लाभ भएको छ । प्राकृतिक सुन्दरता बढेको छ । चराचुरुङ्गी र जीवजन्तुको संरक्षण भएको छ । हरियाली बढेको छ । पोखरीमा चराहरु झुम्मिएको मनमोहक दृष्य लोभलाग्दो छ । त्यही दृष्य हेर्न र शान्त महसुस गर्न नागरिकहरु पोखरी वरपर आएर आफ्ना थकान र पीडा भुलाउने पनि गरेका छन् ।
 

पोखरी बनाउने सोच मेयर नरुलाल चौधरीको हो । घोराहीमा पहिला नै केही प्राकृतिक पोखरीहरु थिए । २०७४ मा मेयरमा निर्वाचित हुँदा पहिला नै कर्मचारीहरुले बनाएका एक दुईवटा पोखरीहरु पनि थिए । पोखरीमा कंक्रिटको प्रयोग गरिएको थिएन । मेयरमा निर्वाचित भएपछि नरुलालले सुख्खा मौसममा कृषकलाई कसरी सिँचाई सुविधा उपलब्ध गराउने भन्ने मन्थन गरे । उनी मेयरमा निर्वाचित हुनुभन्दा अघि नै बनेका केही पानीका पोखरीहरुलाई उनले अध्ययन गरे । त्यसपछि पालिकामा उपलब्ध प्राविधिक जनशक्तिसँग उनले सुख्खा र खडेरीमा प्रयोग हुने गरी पोखरी निर्माणको विषयमा अध्ययन थाले । कर्मचारीहरुले प्राकृतिक पोखरी जस्तै कृतिम पोखरी पनि बनाउन सकिने सल्लाह दिएपछि नरुलाल ‘रिचार्ज पोखरी’ बनाउने स्रोत जुटाउन तल्लिन भए । एमालेबाट निर्वाचित मेयर नरुलाललाई प्रदेश र संघबाट आर्थिक स्रोत माग्न सजिलै भयो । त्यसपछि उनले आफ्नो पालिकामा सुख्खा र  पानीको अभाव हटाउन रिचार्ज पोखरीहरु बनाउन थाले ।

 

२०७४ सालमा पनि मेयरमै निर्वाचित चौधरीले कृषकका समस्या समाधान गर्न सुरु गरेको रिचार्ज पोखरीको काम अहिले माछा पालनदेखि पर्यटन प्रवद्धनसम्म लाभदायक भएको छ । सुरुमा पोखरीमा पौडी खेल्न बालबालिकाहरु पसेर केहीको मृत्यु भएपछि मेयर चौधरीको आलोचना पनि भएको थियो । तर अहिले भने स्थानीय नागरिकहरु नै रिचार्ज पोखरी बनाइदिन अनुरोध गर्छन । रिचार्ज पोखरीबाट स्थानीयहरुले सुख्खा महिनाहरुमा प्रशस्त पानीको प्रयोग गर्न पाएका छन् । जमिनमा खाद्य बालीदेखि तरकारीहरु उत्पादन गरेका छन् । बेमौसमी तरकारीले राम्रो आम्दानी पनि दिएको छ । माछा पालन गरेर पनि आम्दानी बटुलेका छन् । पोखरी वरपर होटल तथा पसल चलेका छन् । ती होटल तथा पसल पर्यटकले धानेका छन् ।

 

सुख्खा र खडेरीबाट जमिनमा पनि खासै असर परेको छैन । माटोकै प्रयोग गरेर बनाइएका ड्यामबाट जमिनले पनि पानी सोसेर लिएकाले हरियाली बसिरहेको छ । सुख्खापन देखिइएको छैन । घाँस पात पनि पलाइरहन्छ । गहुँ, मकैजस्ता बालीमा पानी लगाउन किसानलाई सजिलो भएको छ । लुगा धुन, चौपायलाई खुवाउन पानीको उपलब्धता भएको छ । घोराही उपमहानगरवपालिकाका नागरिकहरु अब मोटरले घरघरमा पानी तानेर आफूलाई चाहिएको बेलामा पानीको प्रयोग गर्न सक्ने भएको छन् । घोराहीको यो कामले विश्वभर सुख्खा र खडेरीमा पनि पानीको उपलब्धता गराउन सकिने सन्देश दिएको छ ।
 

विश्वभर खडेरी र सुख्खापन बढिरहँदा घोराहीले निर्माण गरेको रिचार्ज पोखरी अरु पालिकाका लागि पनि उदाहरणिय छ । वातावरणमा सन्तुलन मिलाउन र प्रकृतिक सुन्दरता र स्वच्छता जोगाउन घोराही उपमहानगरपालिकाले गरेको काम सामान्य भने छैन । अमेरिकाको लस एन्जलसमा यसरी पानीका ‘रिचार्ज पोखरी’हरु बनाइएको भए अहिलेजसरी क्षति हुने थिएन कि ? यसको अनुशरण देशभरकै पालिकाहरुले पनि गर्ने कि ?

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology