व्यवसायी भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, २० अर्ब बिगो दाबी गर्न माग

User Image मेयरसाप डेस्क | २०८३ जेठ ५ गते १४:०२
Image of https://mayorsap.com/storage/photos/shares/images.jfif

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । विभागले करिब २० अर्ब रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई सिफारिस गरेको हो ।

विभागका अनुसार यो समूहले हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीबाट करिब ३ अर्ब ७३ करोड रुपैयाँ गैरकानुनी रूपमा सारेर प्रतिस्पर्धी कम्पनीमा सेयर खरिद गरेको पाइएको छ । बिमा, धितोपत्र र सेयर कारोबारसम्बन्धी कानुनविपरीत कसुर गरेकामा आरोपितविरुद्ध २ देखि १० वर्षसम्म कैद, बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफतको माग गरी मुद्दा दायर गर्ने तयारी छ ।

विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । प्रतिवेदनमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको बुझिएको छ । यस्तै, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रि–इस्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचानलगायतविरुद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिस छ ।


विभागले सुलभलाई २१ चैत र भट्टलाई त्यसको दुई दिनअघि १९ चैतमा पक्राउ गरेको थियो । सुलभका बुबासमेत रहेका शंकर ग्रुपका अध्यक्ष शंकर भने २० चैतमा पक्राउ परेका थिए । दुई दिन हिरासतमा राखेर शंकरलाई विभागले हाजिरी जमानीमा छाडेको थियो । भट्ट र सुलभ हिरासतमै छन् । गोल्छालाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको थियो । तर सर्वोच्च अदालतको आदेशले उनी रिहा भइसकेका छन् । अन्य आरोपित फरार छन् ।


Facebook Comments