मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

तीनपाटन गाउँपालिका

सिराहा नगरपालिका

सत्यवती गाउँपालिका

भोजपुर नगरपालिका

बुद्धजन्मस्थल

राष्ट्रसंघले भन्यो– ट्रम्प जलवायुबाट पछि हटेको भए पनि विश्वव्यापी हरित ऊर्जाको दबाब जारी रहन्छ

Mayorsap

बुध, माघ ९, २०८१ | २२:०३ बजे

स्विट्जरल्यान्ड । पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई फिर्ता लिने डोनाल्ड ट्रम्पको निर्णयले सिर्जना गरेको नवीकरणीय ऊर्जा लगानीतर्फको विश्वव्यापी गतिलाई सुस्त पार्न नहुने संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

 

“धेरै देश हरित ऊर्जाको दिशामा अघि बढ्नेछन् भन्ने मलाई विश्वास छ”, संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का प्रमुख सेलेस्टे साउलोले भने । सोमबार पदभार ग्रहण गरेपछि राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई बढावा दिने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न १९५ पक्षले अपनाएको सन् २०१५ पेरिस सम्झौताबाट अमेरिका फिर्ता हुने घोषणा गरेका थिए । 

 

आलोचकहरूले यो कदमले जीवाश्म इन्धनको प्रयोग घटाउने विश्वव्यापी सहकार्यलाई कमजोर पार्ने र अन्य देशहरूको जलवायु कार्यप्रतिको प्रतिबद्धतालाई कमजोर पार्नसक्ने चेतावनी दिएका छन् ।

 

तथापि डब्लुएमओ प्रमुख साउलोले एएफपी र रोयटर्ससँगको संयुक्त अन्तर्वार्तामा अमेरिकाको बहिर्गमनले हरित ऊर्जामा फाइदाजनक भइरहेको लगानीलाई रोक्न नसक्ने बताए । “नवीकरणीय ऊर्जा स्रोतहरूतर्फको यात्रा जारी छ र... देशहरूलाई समृद्धि ल्याउँछ”, उनले स्विस स्की रिसोर्ट शहर डाभोसमा विश्व आर्थिक मञ्चको अवसरमा भने, “त्यो परिवर्तन हुनेछैन ।”

 

उनले ‘मानिसहरूले वास्तवमै धेरै फाइदाजनक र साथै हरित पहल भएका लगानीहरूबाट पछि हट्ने’ अपेक्षा नगरेको बताए । “मलाई लाग्छ कि पेरिस सम्झौतासँगै सुरु भएको गति र प्रगति त्यहीँ छ”, उनले भने ।

– पूर्व चेतावनीहरू –

ट्रम्पले यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकालाई पेरिस सम्झौताबाट फिर्ता लिएका थिए तर सन् २०२१ मा पदभार सम्हालेपछि पूर्वराष्ट्रपति जो बाइडेन पुनः प्रवेश गराएका थिए । ट्रम्प सत्तामा फर्किएको पहिलो दिन सोमबार गरिएको घोषणाले सम्झौताको नियमअन्तर्गत संयुक्त राज्य अमेरिका एक वर्षभित्र औपचारिक रूपमा बाहिर निस्कने सङ्केत गरेको छ ।

 

सन् २०२४ मा विश्वव्यापी औसत तापक्रम रेकर्ड उचाइमा पुगेको बेला उक्त घोषणा आएको छ । जबकि विगत दुई वर्षमा विश्व औसत तापक्रमले अस्थायी रूपमा पहिलो पटक १.५ डिग्री सेल्सियसको महत्त्वपूर्ण तापक्रम सीमा पार गरेको छ । ट्रम्पको कदमका बारेमा सोधिएको प्रश्नमा साउलोले भने, “यो एउटा सार्वभौम देशको निर्णय हो र हामीले यसलाई स्वीकार गर्न आवश्यक छ ।” उनका अनुसार अब डब्लुएमओको ध्यान एजेन्सीसँग ‘अमेरिकाको बलियो सहयोग र संलग्नता जारी राख्ने’ मा केन्द्रित हुनेछ ।

 

विशेषगरी चरम मौसमी घटनाहरूको पूर्व चेतावनी प्रणाली स्थापना गर्ने कामलाई ‘असर नपर्ने’ उनले बताए । चरम मौसमी घटनाहरू बढ्दै गएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले सन् २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई बाढी, खडेरी, गर्मीको लहर र आँधीको पूर्व चेतावनी प्रणालीले सुरक्षित गर्न चाहेको बताएको छ ।

 

साउलोले डब्लुएमओ र अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन ९एनओएए० बीचको घनिष्ठ सहयोगमाथि प्रकाश पारे । एनओएएको काम ‘विश्वव्यापी रूपमा धेरै प्रभावकारी’ रहेकामा उनले जोड दिए ।

 

“म निश्चित छु त्यो उस्तै लाइनमा जारी रहनेछ, किनभने आसन्न विपत्तिहरूको पूर्व चेतावनी जारी गर्न जलवायु सूचनाको प्रयोग गर्ने सहित उनीहरूले जीवन बचाइरहेका छन्”, उनले भने, “म भन्न सक्छु कि संयुक्त राज्य अमेरिका निर्णय लिनका लागि जलवायु सूचनाको सबैभन्दा बढी प्रयोग गर्ने देशहरूमध्ये एक हो ।” 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology