नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
Mayorsap
बिही, माघ १०, २०८१ | १९:१९ बजे
काठमाडौं । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई नागढुंगामा पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.१.०१.००६ ख ४७९६ नम्बरको बसमा चेकजाँचको क्रममा एक भारतीयसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं डीएसपी पूर्णिमा कुमारी चन्दले जानकारी दिइन् ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश दिनेशपुरका ३७ वर्षीय गोविन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका–११ का २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका–११ का ३८ वर्षीय विनोद तामाङ रहेका छन्।
डीएसपी चन्दका अनुसार भारतीय नागरिक बालाले १५० ग्राम ब्राउनसुगर ल्याएका थिए । प्रहरीले सोधपुछ गर्दा उनले महर्जन र तामाङलाई दिन ल्याएको बताए । त्यस क्रममा ब्राउनसुगर लिन पुगेका ती दुई जनालाई बा ५१ प ७५५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको चन्दले बताइन्। पक्राउ परेकाहरूलाई थानकोट वृत्तमा राखेर अनुसन्धान थालिएको छ।