Ad Image

महाकुम्भ मेलामा पर्साका थप दुई जना सम्पर्कविहीन, खोजी कार्य जारी

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738309334.jpg

वीरगंज । भारतको उत्तर प्रदेश राज्यस्थित इलाहाबाद (हाल प्रयागराज) सहरमा लागेको महाकुम्भ मेलामा पर्साका थप दुई व्यक्ति हराएको बुझिएको छ ।

 

पर्साको जगरनाथपुर गाउँपालिका(३ विजवानिया निवासी ६५ वर्षीय रजु राउत अहिर र ६० वर्षीय उमाकान्त गिरी बुधवार मौनी अमावस्याका दिन बिहान भएको भागदौडमा परेर हराएका हुन् ।

 

अहिरका नाति धनञ्जय यादव (मन्टू) का अनुसार, नौ जनाको समूह बनाएर प्रयागराजस्थित सङ्गम नदीमा नुहाउने उद्देश्यका साथ गएको टोलीमा रहेका अहिर र गिरी भागदौडका क्रममा हराएका हुन् । उनीहरू वीरगञ्जबाट माघ ४ गते समूह बनाएर बिटोर काँवर लिएर विभिन्न धार्मिक स्थलमा पूजा गर्दै महाकुम्भ पुगेका थिए ।

 

अहिर र गिरीसँगै रहेको टोलीले उनीहरूको खोजी कार्य गरिरहेको छ । शुक्रवार बिहानसम्म पनि उनीहरूको विषयमा कुनै जानकारी प्राप्त नभएको मन्टूले बताए । भारतका स्थानीय सुरक्षाकर्मी र सरकारी अधिकारीहरूसँगको सहकार्यमा उनीहरूको खोजी कार्य जारी रहेको पनि उनले यात्राडेलीलाई बताए ।

 

मन्टूले अहिर र गिरीको विषयमा जानकारी हुने व्यक्तिलाई आफूसँग सम्पर्क गर्न आग्रह पनि गरेका छन् । उनले नेपाली र भारतीय सम्पर्क नम्बरहरू सार्वजनिक गर्दै अहिर र गिरीको विषयमा कुनै जानकारी हुने व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेका छन् । नेपाली नम्बरहरू ९८११८६३४८३, ९८२१८५००५०, ९८१८२८५७०९ र भारतीय नम्बरहरू ९२३५२२७८०८, ७२५०७३३४८५ मा सम्पर्क गर्न उनले आग्रह गरेका हुन् ।

 

उनले आज पर्सा प्रहरीमा पनि अहिर र गिरी सम्पर्कविहीन भएको भन्ने जानकारी गराउने योजना बनाएको बताए ।

 

यसअघि पर्साको पोखरिया नगरपालिका–१ बनकटवा गाउँकी ४३ वर्षीय चन्दकिशोरी देवी गिरी महाकुम्भ मेलामा बुधवार बिहानदेखि सम्पर्कविहीन भएको जानकारी आएको थियो । शुक्रवार बिहानसम्म पनि उनीसँग कुनै सम्पर्क नभएको वडाध्यक्ष प्रमोद गिरीले जानकारी दिएका छन् ।

 

महाकुम्भ मेलामा बुधवार बिहान डेढ बजेतिर मौनी अमावस्याको स्नानको तयारी भइरहेका बेला अचानक भएको भागदौडमा परेर ३० भन्दा बढीको मृत्यु भएको र ६० भन्दा बढी श्रद्धालु घाइते भएको भारतीय अधिकारीहरूले दाबी गरेका छन् । यद्यपि सञ्चारमाध्यमहरूले मृतकहरूको सङ्ख्या अझै धेरै हुनसक्ने बताइरहेका छन् ।

 

महाकुम्भ मेलामा हराएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको भारतीय अधिकारीहरूले बताएका छन् ।