निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
Mayorsap
शनि, माघ १९, २०८१ | २०:४२ बजे
रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् । आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तरराष्ट्रिय विमानस्थल अनिवार्य भएको उनले बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले निजगढ–काठमाडौँमा ‘फास्ट ट्र्याक’को निमार्णका साथसाथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको आवश्यकता औँल्याए । निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउनका पहल गरिरहेको भन्दै उनले नेपाल–भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने बताए ।
स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिहरूले आवश्यकताका आधारमा आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने भन्दै दीर्घकालीन समाधान गर्न केन्द्रीय स्तरबाट नीतिगत रूपमा समाधान गर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिए । सीमा समस्या समाधानका लागि जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो । अध्यक्ष नेपालले दुवै देशका नागरिकहरूको हित हुनेगरी सरकारले काम गर्नुपर्ने बताए ।