सिंहदरबार र सर्वोच्च अदालत भत्काएर देखाऊन बालेनलाई अमरेशको च्यालेन्ज
Mayorsap
सोम, माघ २८, २०८१ | १५:१३ बजे

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरले कवाडी व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आइतबार टेकुस्थित कवाडी गोदाम भत्काउन पुगेको काठमाडौं महानगरको प्रहरी टोलीले व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका हुन्।
उनले काठमाडौंका मेयरले नाजीवादको शैली अपनाएको भन्दै त्यो शैली अब नचल्ने चेतावनी दिएका हुन्।
उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई कवाडी गोदाम मात्र नभएर सिंहदरबार भत्काउन पनि च्यालेन्ज दिएका छन्।
उनले संघीय सरकारलाई आग्रह गर्दै हरेक नेपालीको सुरक्षा गर्न आग्रह गरे । उनले अहिले देशको अवस्था लथालिङ्ग र भताभुंग भएको टिप्पणी गरे।
उनले भने,'बालेनलाई च्यालेन्ज गर्छु हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ। यो नाजीवाद मेयरको चल्दैन ।'