रोजगारी सिर्जनामा तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड


ललितपुर । विकराल बन्दै गएको बेरोजगारी समस्या उद्यमशीलतामार्फत हल गर्न सकिने भएकाले त्यसतर्फ तीनै तहको सरकारको ध्यान जानुपर्नेमा जोड दिइएको छ ।ललितपुर महानगरपालिकाले आयोजना गरेको दुई दिने ‘स्टार्टअप र उद्यमशीलता सङ्गोष्ठी’ उद्घाटन समारोहका वक्ताहरूले स्थानीयस्तरमा उद्यमशीलता विकास गर्नका लागि नीति एवं बजेटको व्यवस्था गरिनुपर्ने बताए।
बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले स्थानीयस्तरमा युवालाई उद्यममा लाग्ने उपयुक्त वातावरण सिर्जना गर्न सबै तहका सरकार लाग्नुपर्नेमा जोड दिए । “नवप्रवर्तन र उद्यमशीलतामार्फत कृषि र वनका क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्न सकिन्छ,” उनले भने, “बागमती प्रदेशबाट एक हजार युवालाई लक्षित गरेर सूचना प्रविधि क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।”
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ योङ्गले दक्षिण कोरिया नेपालको विकास यात्रामा सहकार्य, समन्वय र सहयोग आदानप्रदान गर्दै विश्वको एउटा राम्रो साथी बन्न चाहेको बताए । उनले उद्यमशीलता विकास गरेर देशमा रोजगारी सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे ।
ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पालिकास्तरमा भएको स्टार्टअप र उद्यमशिलताको यो कार्यक्रम देशभरकै पहिलो अभियान भएको जिकिर गरिन् । ललितपुर महानगरले स्टार्टअप सेन्टर सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी गराइन्।
कार्यक्रममा ललितपुर महानगरपालिका र कोरियाको ग्योङसाङ नेशनल विश्वविद्यालयबीच स्टार्टअप र उद्यमशिलताका शिक्षा, ज्ञान, सीप र कार्यक्रम आदानप्रदान गर्ने विषयको सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।