मेयरसाप

सामुदायिक विद्यालय

डाक्नेश्वरी नगरपालिका

गैंडाकोट नगरपालिका

गोरीकला बुढा

आठबिसकोट नगरपालिका

लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा

Mayorsap

शुक्र, फागुन २, २०८१ | २२:०९ बजे

गोरखा । माघ शुक्ल द्वितीया तिथि पारेर आज यहाँको धार्चे गाउँपालिका–४ लाप्राकमा मकैको विवाह गरिएको छ । मकैको विहे गरेपछि मात्र बारीमा रोप्न सुरु गर्ने परम्पराअनुसार गाउँलेले सामूहिक रुपमा मकैको विहे गरेका हुन् । गाउँको एक घरको ठूलो आँगनमा गाउँले भेला भई आआफ्नो घरको मकैको बीउसँगै स्थानीय घाँटुकन्या र कुमारलाई डोलीमा बोकी गाउँ परिक्रमा गरी मकैको विहे गरिएको हो ।


मकै, कन्या र कुमार बोकेका जन्तीले वाद्यवादनसहित गीत गाउँदै, नाच्दै गाउँको परिक्रमा गरेका थिए । “यहाँ मकैको विहे गरेपछि मात्र बारीमा रोप्ने चलन छ”, स्थानीय मार्सिङ गुरुङले भने, “यसपालि पानी पर्न ढिलो भयो । हिजो अलिअलि पानी पनि प¥यो । अब मकै रोप्न हुन्छ भनेर मकैको विहे गरेका हौँ ।” बिहेको अघिल्लो दिन बिहिबार डाँडापूजा गरिएको थियो । खेत नभएकाले धार्चे गाउँपालिकाको मुख्य खेती मकै हो । स्थानीयका अनुसार मकैको बिहे गरेको दोस्रो सातादेखि सबै किसानहरुले बारीमा मकै रोप्न थाल्छन् ।


लाप्राक एक वडा, एक बस्ती भएको गाउँ हो । यहाँ एकै गाउँमा पाँच सयभन्दा धेरै घरधुरी छन् । वर्षौँदेखि मकैको विवाह गर्ने परम्परा कायम छ । गाउँले सबै मिलेर मकैको जन्ती गएको, मकैको भोज खाएको र नाचगान गरेको स्थानीय मणिकामदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए । प्रकृति पूजा गर्ने बोन सम्प्रदायले मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उब्जनी राम्रो होस्, असिना पानीले नास नगरोस्, रोग नफैलियोस् भनेर यहाँ मकैको विहे गर्ने गरेको प्रअ गुरुङ बताएका छन् ।

 

बिहेका लागि गाउँका जैसीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन हरेक घरका सदस्यले मकैका घोगा जमिनमा गाड्ने चलन छ । “अघिल्लो दिन गाडेको मकै पूजाको दिन बिहान झिकेर गाउँ परिक्रमा गरिन्छ”, गुरुङले भने, “बिहान सबै जना ठूलो आँगनमा जम्मा भइन्छ र महिलाहरुले घाँटु कुमारीलाई सिङ्गारेर अलि पर जङ्गलमा लुकाएर राख्छन् । अनि गाउँबाट एक जना बालकलाई दुलाहा जस्तो सिँगारेर डोलीमा चढाएर ढ्याङ्ग्रो, मादल र झ्याली बजाउँदै जन्ती लैजाने चलन छ ।”

 

उनका अनुसार जङ्गलमा पुगेपछि कन्या र कुमारलाई दुईटा डोलीमा बोक्दै गाउँको परिक्रमा गर्ने गरिन्छ । गाउँ फर्केपछि मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा रोप्ने प्रचलन लाप्राकमा कायम छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology