संरक्षण अभावमा जीर्ण बन्दै जनजाति महासङ्घको भवन
Mayorsap
शनि, फागुन ३, २०८१ | १७:४८ बजे

लमजुङ । बेँसीसहर नगरपालिका–७ मा १३ वर्ष अघि निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् लमजुङको भवन अलपत्र परेको छ । प्रयोगविहीन हुँदा भवन जीर्ण समेत बन्दै गएको छ ।
भुई तलामा एउटा हलसहित पाँच वटा कोठा रहेको उक्त दुई तले यस भवनलाई चारै तिरबाट झाडिले घेरिएको छ । तल्लो भागको पर्खाल भत्किएर प्वाल परेको छ । झ्यालढोका भत्किएका छन् । झ्यालमा राखिएका सबै सिसा फुटेका छन् भने च्यानल गेटलगायतमा खिया लागेको छ । भवनभित्र चाउचाउ, विस्कुटका खोल, फुटेका सिसाका टुक्रा र खाली पानीका बोतल छन् ।
मस्र्याङ्दी नदी र बेँसीसहर बजारको बीच भागमा जङ्गलभित्र उक्त भवन छ । भवनसम्म पुग्ने बाटो सहज छैन । यहाँ भवन रहेर पनि प्रयोग नगर्दा जीर्ण बनिररहेको छ । विसं २०६८ मा निर्माण सम्पन्न भएयता यस भवन प्रयोगविहीन बन्दै आएको हो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट रु. २५ लाख र तत्कालीन जिल्ला विकास समिति लमजुङबाट पहिलो पटक रु. १० लाख र दोस्रो पटक रु. पाँच लाख गरी रु. १५ लाख गरी कूल रु. ४० लाख बजेटबाट भवन निर्माण गरेको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् लमजुङका तत्कालीन अध्यक्ष खेमजङ गुरुङले बताए ।
उनका अनुसार विसं २०६७ फागनमा प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव आयोजना गरेर नाफा भएको करिब रु. पाँच लाख रकममध्ये रु. तीन लाखमा उक्त भवन निर्माणका लागि एक रोपनी जग्गा खरिद गरेको थियो ।
परिषद्का पूर्वअध्यक्ष गुरुङले राजनीति विवादका कारण अहिलेसम्म पनिभवन उद्घाटन हुन नसकेको दुःखेसो गरे । परिषद्का अध्यक्ष रामकुमार श्रेष्ठले भने, “घर त बनाइ हाल्यो, पहिलेका साथीहरुले घर पूरा नहुँदा पहिला झगडा भयो । भवन प्रयोग हुन नसक्दा जीर्ण बन्दै गयो, अब हामी नयाँ टिम आएको र यतिबेला पुनः सञ्चालन गर्ने योजना बनाएका छौँ ।”
केही समयअघि प्राविधिक टोलीले भवनको निरीक्षण गरेको र भवन मर्मतका लागि करिब रु. १५ लाख खर्च लाग्ने जनाइएको छ । भवन मर्मतका लागि केही रकम बेँसीसहर नगरपालिका र जनजाति महासङ्घ केन्द्रले सहयोग गर्ने जनाएको उनको भनाइ छ ।