Ad Image

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739692898.jpg

चितवन । यहाँका चिकित्सक दम्पतीले सञ्चालन गरेको डाक्टर अजय, डाक्टर सरू फाउन्डेसनले देवघाटका १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ ।

 

देवघाट गाउँपालिकाका चार वडाका १० विद्यालयमा अध्ययनरत ती बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको हो ।  

 

साइराम डेन्टल केयरका सञ्चालकद्वय डा. अजय न्यौपाने र डा. सरू थापाले स्थापना गरेको सो फाउन्डेसनले विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेको हो । ती बालबालिकालाई फाउन्डेसनले शिक्षा, स्वास्थ्यसँगै अन्य आवश्यक पर्ने विषयमा सहयोग पुराउने जनाएको छ । 

 

फाउन्डेसनले ती बालबालिकालाई झोलासहित स्टेसनरी सामग्री, पोसाक, खेल र स्वास्थ्यका सामग्री वितरण गरेर अभिभावकत्व ग्रहणको सुरुआत गरेको हो । फाउन्डेसनका सञ्चालक डा. न्यौपानेले ती बालबालिकाले उच्च शिक्षामा चिकित्सक, इन्जिनियरिङलगायतका महत्वपूर्ण विषय अध्ययन गर्न सकेमा त्यसमा समेत सहयोग गर्ने गरी अभिभावकत्व ग्रहण गरिएको बताए ।

 

यसरी छनोट गरिएका बालबालिका ५ देखि १२ वर्षका छन् । ती बालबालिका कोही बाबु र कोही आमा नभएका विपन्न रहेको देवघाटस्थित कालिका आधारभूत विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष विकास ढकालले बताए ।

 

चिकित्सक दम्पतीले  साउनको अन्तिम साता फाउन्डेसनको घोषणा गरेपछिको यो तेस्रो कार्यक्रम हो । दम्पतीले अक्षयकोषमा १० लाख र सञ्चालन खर्च  १० लाख विनियोजन गरेर काम अघि बढाएको हो । क्रमशः रकम थप गर्दै लगिने डा. थापाले बताए । थापाले अभिभावक गुमाएका विपन्न परिवारका बालबालिकालाई अभिभावक नभएको महसुस हुन नदिन अभिभावकत्व ग्रहण गरिएको बताए ।

 

फाउन्डेसनले बालबालिकाको दाँतमा समस्या आउन नदिन निःशुल्क सिल चितवन (किरा लाग्न सुरु गरेको दाँतमा सिमेन्ट भर्ने) अभियान पनि चलाइरहेको छ । उनीहरुले फाउन्डेसन स्थापना अघि पनि ग्रामीण क्षेत्रमा पुगेर निःशुल्क क्याम्पमार्फत दाँतको उपचार गराउँदै आएको थियो । संस्थागत रुपमा काम गर्ने उद्देश्यले आफ्नै लगानीमा फाउन्डेशन स्थापना गरिएको हो । डा. न्यौपाने भरतपुर अस्पतालको दन्त विभागका विभागीय प्रमुख हुन् । डा थापाले निजी क्षेत्रबाट साइराम डेन्टल केयर सञ्चालन गर्दै आएका छन् ।