सांसदद्वारा खोटाङ आगलागी र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
Mayorsap
सोम, फागुन ५, २०८१ | १४:२२ बजे

काठमाडौँ । तिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद सरस्वती बजिमयले आइतबार भएको खोटाङको आगलागीमा पूजा सामग्री पसल र दोस्रो तल्लामा रहेको एक लघुवित्तको कार्यालयलगायतमा क्षति पुगेकाले पीडितलाई यथाशीघ्र राहत दिन माग गरे । आगलागीबाट हुनसक्ने ठूलो क्षतिबाट बचाउन सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले योगदान गरेको पनि उनले सुनाए । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले ग्यास सिलिन्डर बाहिर फालेका कारण आगो धेरैतिर फैलन नपाएको सांसद बजिमयले बताए ।
सांसद रघुजी पन्तले नेपाल दुई सदनात्मक संसदीय प्रणालीको अभ्यास गर्ने मुलुक भएको उल्लेख गर्दै एउटा सभाका एक सांसदले बोलेको विषयलाई अर्को सभाले खेद प्रस्ताव पारित गर्ने अभ्यास गलत भएको बताए। राष्ट्रियसभा वृद्धाश्रम नभई पाकाहरुको संसद् भएको उल्लेख गर्दै प्रतिनिधिसभाका सांसदविरुद्ध खेदप्रस्ताव पारित गरिनु दुःखद् भएको धारणा राखे।
सांसद रामकुमार राईले खोटाङको आगलागीमा रु. सात करोडको क्षति भएको, दुई घर जलेर नष्ट भएको सुनाए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधिले मिलेर आगलागी नियन्त्रण गरेको उनले जानकारी दिए । तत्काल आगलागी पीडितलाई क्षतिपूर्ति र राहतको व्यवस्था गर्न उनले माग गरे ।
सांसद अशोककुमार चौधरीले चार घण्टापछि मात्र खोटाङको आगो निभाउन सकिएकाले सबै जिल्लामा दमकलको व्यवस्था गर्न माग गरे । आगो निभाउनका लागि पूर्वतयारी गर्न पनि उनले सुझाव दिएका थिए। सांसद वीरेन्द्रप्रसाद महतोले बलात्कारका घटनामा पीडितले आत्महत्या गर्ने अवस्था आउँदा पनि पीडित कानुनी कारबाहीको दायरामा नआउनु दुःखद भएको बताए। सांसद सीताकुमारी रानाले दैलेखको पश्चिम क्षेत्रका केही विद्यालयमा तनावसँग सम्बन्धित रोग फैलिएकाले अन्तिम परीक्षा सुरु हुने बेलामा यस्तो रोगको समाधान गरिनुपर्नेमा जोड दिइन ।
सांसद सूर्यबहादुर थापा क्षत्रीले आइतबार संसद्मा प्रश्नोत्तर सकेर प्रधानमन्त्री निस्कँदै गर्दा बाहिर बसेका पत्रकारले तपाईं हिटलरको बाटोमा हिँड्न खोजेको हो भनी सोध्नु जायज नभएको र पत्रकार आचारसंहिता विपरीत भएको बताए । संसद्बाट निर्वाचित प्रधानमन्त्री हिटलर हुन नसक्ने उनको भनाइ थियो । पत्रकारले आफूलाई पनि हनुमान हो भनी प्रश्न सोध्ने गरेको उनको गुनासो थियो ।
सांसद सम्झना थपलियाले सिराहाकी रिङ्कुकुमार सदालाई केही व्यक्तिले सामूहिक बलात्कार गरेपछि सहन नसकी आत्महत्या गर्नुपर्ने अवस्थामा लगेको र प्रहरी मौन रहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। यस्ता अपराधमा संलग्न निर्धक्क हिँड्ने वातावरण नबनोस् भन्नेमा पनि उहाँले गृहप्रशासनसमक्ष आग्रह गरेकी थिइन् ।