मेयरसाप

फिदिम नगरपालिका

एम्बुलेन्स

भोजपुर नगरपालिका

चौरजहारी नगरपालिका

राष्ट्रिय प्रतिभा पुरस्कार

सिराहाकाे विद्यार्थी नभएकाे विद्यालयमा मेयरदेखि प्रअसम्म मिलेर `खान्छन्´ दिवा खाजाकाे पैसा

मिलेमताेमा लाखाैं अनियमितता

मुकेशकुमार यादव

सोम, फागुन ५, २०८१ | १६:०६ बजे

सिरहा । सिरहाको सुखिपुर नगरपालिका ५ लड्कन्हास्थित आधारभूत विद्यालयमा नगर प्रमुख, शिक्षा शाखाका कर्मचारी र प्रधानाध्यापक मिलेर लाखौं रकम अनियमितता गरेको पाइएको छ । विद्यालयको दिवाखाजा, पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा लाखौं रुपैयाँ अनियमितता गरेको खुलेको हो। 

 

उक्त विद्यालयमा विद्यार्थीको संख्या शून्य अवस्थामा रहेपनि रजिष्ट्रारमा विद्यार्थीको संख्या धेरै देखाएर लाखौं रुपैयाँ अनियमितता गरेको पाइएको छ । नगरपालिकाको शिक्षा शाखाले विद्यालयलाई खाजा खर्च दिँदा कति विद्यार्थी अध्ययनरत छन् ? कति दिन विद्यालय खुलेको छ ? त्यस आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर शिक्षा शाखाका कर्मचारीले कमिशनको मोलमोलाई गरी विद्यालयका प्रधानाध्यापक हरिप्रसाद यादवले पेश गरेको विवरणको आधारमा रकम निकासा गर्ने गरेको आरोप स्थानीयको छ ।


अहिले विद्यालयमा विद्यार्थी उपस्थितिको संख्या न्युन छ । विद्यार्थीको संख्या किन घटेको भनेर प्रश्न गर्दा– बालविकास सहयोगी कार्यकता सकुन्तलादेवि यादवले आजमात्र विद्यार्थी कम उपस्थित भएको जिकिर गरिन् । तर, विद्यार्थी हाजिरी रजिष्ट्रारमा गत माघ ६ गतेपछि विद्यार्थीको हाजिरी नै गरिएको छैन त, किन हाजिरी नभएको ? भनि प्रश्न गर्दा उनले अक्मकिँदै भनिन्– ‘विद्यार्थी थोरै उपस्थित हुने गरेकाले हाजिरी नगरीएको हो, प्रधानाध्यापकसँग सल्लाह गरेर हाजिरी बनाउँछौं ।’


पछिल्ला दिनहरुमा ३–४ जना विद्यार्थी मात्रै विद्यालय आउने गरेको प्रअ यादवले स्वीकार गरे । तर विद्यालयले शिक्षा शाखामा बुझाउने विवरणमा प्रअ यादवले १ सय १७ जना विद्यार्थीको उपस्थिति देखाइएको छ । रजिष्ट्रारकै आधारमा पाठ्यपुस्तक, छात्रावृत्ति, दिवाखाजा बापतको रकम प्राप्त गर्दै आएको प्रअ यादवले बताए । 


सरकारले शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई खाजा खर्च उपलब्ध गराउँछ । यसका लागि शिक्षा कार्यालयले सम्बन्धित विद्यालयको खातामा रकम निकासा गर्छ । विद्यालयमा खाजा व्यवस्थापन समिति गठन भएको हुनुपर्छ । विद्यालयले स्थानीयस्तरमा प्राप्त हुने खाद्य पदार्थबाट स्वच्छ र स्वस्थ खाजाको व्यवस्था गर्नुपर्छ । तर यस विद्यालयले खाजाका रुपमा  विद्यार्थीलाई ५ रुपैयाँमा पाईने पार्लेजी विस्कूट दिने गरेको छ ।

पालिकाले प्रति विद्यार्थी १५ रुपैयाँको दरले दिवा खाजामा वार्षिक करिव ४ लाख ३२ हजार, पठ्यपुस्तक शीर्षकमा एक सयजना विद्यार्थीको वार्षिक करिव ३५ हजार र प्रति विद्यार्थी छात्रवृत्ति बापत एक सयजना विद्यार्थीको करिव ५ हजार रकम निकासा हुन्छ् । यी सबै शीर्षकमा गरेर प्रधानाध्यापकले प्रत्येक वर्ष करिवकरिब ५ लाख भन्दा बढी अनियमितता गरेको देखिन्छ । 


वार्षिक विभिन्न शीर्षकमा आधारभुत विद्यालयले करिव तलवभत्ता बाहेक ७ लाख रुपैयाँ पाउने गरेको नाम उल्लेख नगर्ने शर्तमा एकजना प्रधानाध्यापकले बताए । उनका अनुसार विद्यार्थी नआए पनि विद्यार्थीले पाउने सेवासुविधामा पालिकाले बार्गेनिङ गर्छ र पछि सबै कुरा मिलेपछि रकम निकासा गर्ने गरेको छ । विद्यालयमा २ शिक्षक, एक बालविकास र एक कार्यालय सहयोगीसहित ४ जना शिक्षकहरु कार्यरत छन् । विद्यालयमा विद्यार्थीहरु नै नभएपछि शिक्षकहरु कामै नगरी तलव भत्ता बुझिरहेका छन् । शिक्षकहरु दिनभर घाम ताप्ने र मोबाईल चलाएर तलव खाने गरेको स्थानीय बताउँछन् ।  

प्रअ यादवले भने दिनहुँ जसो नगरपालिका र सदरमुकाम लहान धाउने गरेका छन् । कार्यालय सहयोगी महेश प्रसाद यादवले प्रअ यादव विद्यालयकै काम विशेषले नगरपालिका गएको बताए । उनले भने– 'सरको प्रायः नगरपालिका र शिक्षा विकास तथा समन्वय ईकाईमा काम पर्ने भएकाले गइरहनुहुन्छ ।' एक स्थानीयका अनुसार 'प्रअ यादव १०–११ बजे नै विद्यालय पुगेर हाजिर गर्छन्, त्यसपछि कहाँ निस्कने हो कुनै पत्तो नै हुँदैन । ’यसबारे प्रअ यादवसँग फोनमा सम्पर्क गर्दा उनले आफु विद्यालयको काम ले नै शिक्षा समन्वय ईकाइमा आएको बताए ।  


स्थानीय बलराम यादवका अनुसार विद्यालयमा पढाई नै हुँदैन ।  त्यहि भएर पनि विद्यार्थी कम उपस्थित हुने गरेको हो । यसबारे पालिकाको शिक्षा शाखा प्रमुख रामभरोसी यादवसँग बुझ्दा उनले त्यहाँ विद्यार्थीको उपस्थिति न्यून रहेपनि ३–४ जनामात्र उपस्थित भएको भन्ने आफूले थाहा नपाएको बताए । उनले भने, ‘म पनि कहिलेकाँही अनुगमनमा  पुग्दा थोरै विद्यार्थीको उपस्थिति देखेको हो । आज ३–४ जनामात्र उपस्थित किन भएछ भन्ने विषयमा म प्रधानाध्यापकसँग बुझ्छु ।’ 


नगर प्रमुख रामऔतार यादवलाई सम्पर्क गर्दा उनले यसबारे भेटेरै कुरा गरौंला भन्ने प्रतिकृया दिए ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology