रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान हुँदै
Mayorsap
शुक्र, फागुन ९, २०८१ | १५:१२ बजे

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु भएको छ । सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दामा आठ जनाविरुद्धपूरक जाहेरी दर्ता गरेका थिए ।
कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । उनले भने,“यस घटनाका विषयमा हामीले सुरुबाटै गहिरो अनुसन्धान गरिरहेका छौँ । पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सुक्ष्म अनुसन्धानको लागि झन् सहज भएको छ ।”
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो ।
गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले गत मङ्गलबार प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकामा समितिले घटनास्थलमा पुगि प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । छानबिन समितिका संयोजक कोइरालाले घटना दबाउन ‘बार्गेनिङ्’ गर्ने र पञ्चायती बस्ने हाल फरार रहेका बताउनुभयो । उनले भन्नुभयो,“घटना मिलाउन भूमिका खेलेका भनिएका अधिकांश व्यक्ति फरार छन् । भिडियो/फोटाबाट पहिचान गरेर खोजी गरिरहेका छौँ ।”
रिङ्कुका बुबा बिजुलिया सदाय छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेको र विभिन्न पक्षबाट डर–त्रास दिन काम भइरहेको गुनासो गरे ।
यसैबीच घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न सिरहास्थित विभिन्न सामाजिक सङ्घ–संस्थाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा पीडितपरिवारलाई अझै निरन्तर धाक, धम्की, डर त्रास देखाउने काम भइरहेकाले तत्काल भयरहित वातावरणमा बस्ने वातावरण बनाउन आग्रह गरिएको छ ।
मृतकका परिवारलाई भेट्न यहाँ पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले दोषीलाई कानुनको कठ्घरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।