मेयरसाप

सम्पादकीय

महाशिवरात्री

पर्यटन

लालबन्दी नगरपालिका

सीप

पर्यटन

श्री राष्ट्रिय माध्यमिक विद्यालय

शिवरात्रीमा पानीको बहाव बढाउन मेलम्चीलाई बाग्मतीमा छाडियो

Mayorsap

बुध, फागुन १४, २०८१ | १४:४३ बजे

काठमाडौं । शिवरात्रीको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ।


मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेन्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए।


‘हामीले अरु समयमा पनि छ सय लिटर प्रतिसेकेन्ड खोलामा पानी बगाउने गरेका थियौँ । आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौँ । त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ’, उनले भने, ‘शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरु पर्व तथा दैनिक रूपमा वाग्मतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ ।’


उनका अनुसार बिहीबार बिहान ८ बजेसम्म शिवरात्रीका लागि पानी बगाइने छ ।


‘मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामको पानी ल्याएर काठमाडौँका उपभोक्ताको आवश्यकता पूरा गरेका थियौँ’, लामिछानेले भने, ‘आगामी वर्षामा पनि धाप ड्यामको पानी ल्याएर वितरण गर्नेछौँ ।’


गत वर्षको शिवरात्रिमा एकीकृत वाग्मती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले छठपर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा बगाएको थियो ।


बाग्मती सुधार आयोजनाका उपआयोजना निर्देशक एवं सूचना अधिकृत उद्धव नेपालले नदीमा पानीको बहाव बढाउन र बर्तालुलाई स्नानका लागि सहज बनाउन मेलम्चीसँग पानी सापटी लिइएको जानकारी दिए ।


‘शिवरात्रि, छठजस्ता विशेष दिनमा हामीले ड्यामको पानी वाग्मतीमा छोड्दै आइरहेका थियौँ’, उनले भने, ‘यस पटक शिवरात्रिमा ड्यामको पानी परीक्षण गर्न बाँकी भएकाले आगामी वर्षामा मेलम्ची खानेपानी आयोजनालाई ड्यामको पानी दिने गरी सापटी गरेका हौँ ।’


धाम ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा बाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षातकाे समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चार सय प्रतिलिटरका दरले वाग्मतीमा छोड्ने आयोजनाको लक्ष्य छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology