मापदण्ड अनुसार नै उपकुलपतिको नाम सिफारिस गर्न केयूका डिन र एसोसिएटको वक्तव्य
Mayorsap
बुध, फागुन १४, २०८१ | १५:३० बजे

काठमाडौं । काठमाडौं विश्वविद्यालयका ७ वटा स्कुलका डिन र एसोसिएट डिनले उपकुलपतिको नाम मेरिटको आधारमा सिफारिस गर्न छनोट समितिलाई आग्रह गरेका छन् ।
डिन र एसोसिएट डिनहरूले संयुक्त वक्तव्य निकालेर कार्यविधि अनुसार नाम सिफारिस गर्न भनेका हुन् ।
‘तीन जनाको नाम समयमै सिफारिस गरी तीमध्येबाट एक जना उपकुलपतिका रूपमा विश्वविद्यालयले छिट्टै पाउने आशा र भरोसामा छौं । तर, छनोट प्रक्रियालाई लिएर विभिन्न सञ्चार माध्यम मार्फत आइरहेका टिप्पणीहरूले हाम्रो ध्यानाकर्षण भएको छ,’ वक्तव्यमा भनिएको छ ।
समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् । सर्ट लिस्टमा परेका १० जनाको २ र ३ फागुनमा अन्तर्वार्ता सकिएको थियो । तर, समितिका सदस्यबीच सहमति नहुँदा नाम सिफारिस भएको छैन ।
सर्ट लिस्टमा परेका १० जनाको अंकभार तोडमोड गर्न लागेको विषय उठेको भन्दै डिन र एसोसिएट डिनहरूले समितिको ध्यानकर्षण गराएका छन् । ‘उम्मेदवारले पाएको अंकलाई तोडमोड गरिँदै छ, नयाँ नयाँ सर्त अघि सार्ने काम भएकाले समितिमा अरु सदस्यलाई अप्ठेरो परेको छ भन्ने भनाइहरूलाई गलत सावित गरी खोज तथा सिफारिस समिति आफैंले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र छिटो सिफारिस हुनेमा आशावादी छौं,’ वक्तव्यमा भनिएको छ ।
६ माघमा उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि नयाँ उपकुलपतिको नाम सिफारिस गर्न छनोट समित बनाइएको थियो । तर, समितिका तीन सदस्यबीच कुरा नमिल्दा नाम सिफारिस गर्न सकस भएको छ ।
उपकुलपतिको दौडमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुइँटेल, विभूति रञ्जन झा, वेदमणि दाहाल, भोला थापा, राजेन्द्रप्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् ।
