अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
Mayorsap
बिही, फागुन १५, २०८१ | २१:४१ बजे

काबुल । जलवायु प्रकोपका कारण सन् २०२४ मा अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले मङ्गलबार प्रकाशित एउटा प्रतिवेदनमा जनाएको छ । “गत १२ महिनामा लगभग नौ लाख व्यक्तिहरू जलवायु जोखिमबाट प्रभावित भएका छन्,” आईओएमले प्रतिवेदनमा उल्लेख गरेको छ । “पश्चिमी हेरात र फराह प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।”
यस हप्ता, दक्षिणपश्चिम अफगानिस्तान मुख्यतया फराहमा बाढी, असिना र आँधीका कारण ३९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अफगानिस्तान जलवायु परिवर्तनको लागि छैठौं सबैभन्दा जोखिममा रहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार खडेरी, बाढी र घट्दो कृषि उत्पादकत्व प्रमुख चुनौतीहरू हुन् ।
गत मे महिनामा आएको बाढीले सयौंको ज्यान लिएको थियो । अफगानिस्तानमा ८० प्रतिशत मानिसहरू खेतीपातीमा निर्भर रहेका छन् । “अफगानिस्तानका ११ लाख भन्दा बढी मानिस भविष्यमा जलवायु–प्रेरित प्रकोपबाट गम्भीर प्रभावको उच्च जोखिममा छन्,” आईओएमले जनाएको छ ।