त्रिविद्वारा स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी
Mayorsap
शुक्र, फागुन १६, २०८१ | १६:४३ बजे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वयले क्याम्पस/कलेज निर्वाचन समितिलाई थप निर्देशन जारी गरेको हो ।
चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।
त्यसका लागि क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्ने र आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सक्ने जनाएको छ ।
संघ/सङ्गठन/समूह दर्ता फारम एजेन्ट सङ्ख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढाँचा लगायत आवश्यक फारमहरू क्याम्पस/कलेजको निर्वाचन समितिले तयार गर्नुपर्नेछ ।
समितिले स्नातक तह वार्षिक प्रणाली अन्तर्गत प्रथम वर्ष र सेमेष्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्नुपर्ने जनाएको छ ।
क्याम्पस कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्न भनेको छ ।