व्यापारीसँग पैसा असुली गर्ने राष्ट्रिय अनुसन्धान विभागका सूचक यादवमाथि कार्बाही हुने
बढुवासमेत रोक्ने एसपी खड्काको तयारी
Mayorsap
बुध, फागुन २१, २०८१ | २०:४५ बजे

काठमाडौं । बाराको विभिन्न नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाहेक राष्ट्रिय अनुसन्धान विभागको टोलीको नाममा समेत व्यापारीहरुसँग रकम असुली मौलाएको मेयरसाप डट कमले प्रमाण प्राप्त गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभागको बारा जिल्लामा कार्यरत रहेका सूचक जितेन्द्र यादवले बाराका विभिन्न नाकाहरुमा व्यवसायीहरूसँग पैसा असुली गरिरहेको भिडियो मेयरसापलाई प्राप्त भएको थियो ।
गोप्य सूचना संकलनको लागि खटिएका यादवले सूचना कम र व्यापारीहरुलाई डर त्रास देखाई डिआईजीदेखि एसपीसम्मको नाममा रकम असुल्ने गरेको व्यापारीहरूले गुनासो गरेका थिए ।
यसैक्रममा बारामा सूचक प्रयोग गरी एसपीले रकम उठाउने गरेको सूचना हामीलाई प्राप्त भएपछि हामीले बाराका अनुसन्धानका एसपी दिपक खड्कालाई सम्पर्क गरेका थियौं । खड्काले हामीसँग भेट नै गरी रकम असुल्ने यादवलाई कार्बाही अगाडि बढाएको बताए । उनले यादवलाई यसअघि पनि चेतावनी दिएको र त्यस्ते नगर्ने शर्तमा छोडिएको जानकारी दिए । यादवलाई विभागीय कार्बाही अगाडि बढाइसकेको खड्काले जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी र डिआईजीको नाममा समेत सूचक प्रयोग गरी रकम उठाउने गरिएको व्यापारीहरुले गुनासो गरेका थिए । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी, डिआईजी र राष्ट्रिय अनुसन्धानका एसपीको नाममा व्यापारीहरुसँग दररेट तय गरी रकम असुली हुँदै आएको गुनासो व्यापारीहरूको थियो ।
राष्ट्रिय अनुसन्धान विभाग बाराका प्रमुख (एसपी) दीपक खड्का छन् भने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी छन् । यादवले विगत ७ बर्षदेखि सिडिओ, डिआईजी र एसपीका नाममा व्यापारीसँग रकम लिने गरेको आरोप छ ।
केही महिनाअघि छतवाको बरैनिया बजारमा ब्यापारीहरुसँग पैसा माग्ने क्रममा उनलाई स्थानीयले कुटपिट नै गरेका थिए ।