प्रधानमन्त्री कप क्रिकेट : सचिन चम्किदा बैतडी फाइनलमा प्रवेश
Mayorsap
बुध, फागुन २१, २०८१ | २०:४८ बजे

बैतडी । सचिन भट्ट चम्किदा बैतडी प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कञ्चनपुरलाई ४९ रनले हराउँदै बैतडी फाइनलमा सुरक्षित भयो ।
बैतडीले दिएको १६० रनको लक्ष्य पछ्याएको कञ्चनपुर २४.१ ओभरमा ११० रनमा अलआउट भयो । जसमा सुशील खड्काले ३७, राहुल चन्दले २२ र किरन ठगुन्नाले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कञ्चनपुरको पारी ध्वस्त पार्ने क्रममा बैतडीका बलर सचिन भट्टले ह्याट्रिकसहित ७ विकेट हात पारे ।
करिअरकै उत्कृष्ट बलिङ गरेका सचिनले ६ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ७ विकेट लिएका हुन् । सचिन म्यान अफ द म्याच पनि चुनिए । यस्तै हिक्मत महराले २ र भूपेन्द्र चन्दले १ विकेट झारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ४१ ओभरमा १५९ रनमै समेटियो । उसका खडक बोहराले ४४, कप्तान वसन्त खत्रीले अविजित ३५, प्रदीप चन्द १९, सुनिल चन्द १२, हिक्मत महरा ११ र दीपक बोहराले १० रन हिर्काए ।
बलिङतर्फ कञ्चनपुरका मिलन बोहराले ४, विकास आग्रीले ३, कप्तान हेमन्त धामीले २ र अरून ऐरीले १ विकेट पाए । बैतडीले उपाधिका लागि भोलि कैलालीसँग खेल्नेछ । गत वर्षको फाइनलमा पनि यी दुबै टोली फाइनलमा भिडेका थिए । जसमा कैलाली च्याम्पियन भएको थियो ।
गत संस्करणको हारको बदला लिने लक्ष्य बैतडीको हुनेछ भने निरन्तरताको पक्षमा कैलाली हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताए ।