वर्तमान सरकारलाई सन्तुलित ढंगले अघि बढाएर लैजानुपर्छ : नेता सिटौला
Mayorsap
बुध, फागुन २१, २०८१ | २१:०५ बजे

कैलाली । राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमतिअनुसार वर्तमान सरकारलाई सन्तुलित ढंगले अघि बढाएर लैजानुपर्ने बताएका छन् ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज धनगढीमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियानको उद्घाटन गर्दै उनले दुई दल मिलेर बनेको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने बताए ।
पार्टी र सरकारबीच समझदारी गरी सुदृढ दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसभित्र बृहत् एकता जरुरी रहेको बताए । जनताको हितमा संविधान संशोधन गरिनुपर्ने बताउँदै नेता सिटौलाले हरेक आन्दोलनले आधुनिक नेपालको जग निर्माण गरेको र हरेक आन्दोलनको अगुवाइ कांग्रेसले गरेको दाबी गरे ।
नेता सिटौलाले सडकमा चिच्याएर, कराएर राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने ठोकुवा गरे । कार्यक्रममा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य नृप बड, सुशीला मिश्र भट्टलगायतले पार्टीलाई मजबुत बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।