Ad Image

‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ यही चैत्र २४ देखि

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742834180.jpg

भोजपुर । भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश सरकारको प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रदेश सरकारबाट प्रतियोगिताका लागि रु २० लाख रकम प्राप्त हुनेछ । 

 

जिल्ला भलिबल सङ्घ भोजपुरको आयोजनामा स्थानीय टुँडिखेलमा करिब रु ४५ लाख लागतमा सञ्चालन हुने प्रतियोगितामा सात वटै प्रदेशका टिमको सहभागिता हुने आयोजक संस्थाका महासचिव सङ्ग्राम किराँतीले जानकारी दिए । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ । 

 

यहाँका भोजपुर, षडानन्द नगरपालिका, साल्पासिलिछो, अरुण, पौवादुङमा, आमचोक, हतुवागढी, रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकाको सहप्रायोजन रहने प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गर्ने आयोजकले जनाएको छ । 

 

प्रतियोगिताका विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ७५ हजार, तेस्रो हुनेले रु ८० हजार र चौथो हुने प्रदेशको टिमलाई पुस्कार प्रदान गरिने जिल्ला भलिबल सङ्घका अध्यक्ष वीन्द्रकुमार तामाङले जानकारी दिए । उत्कृष्ट पाँच विधामा  रु ५० हजार, सर्वोत्कृष्ट विधालाई रु २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने छ ।