काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई हुलाकबाट पठायो जरिवानाको पत्र
Mayorsap
आइत, चैत १७, २०८१ | १३:५७ बजे

काठमाडौं। काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकबाट जरिवाना पत्र पठाएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पत्र पठाएको हो।
तीनकुनेमा गएको शुक्रवार राजावादीहरुले गरेको प्रदर्शनमा भएको तोडफोड तथा प्रदुषणको जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाह रहेको ठहर गर्दै महानगरले काटेको जरिवानापत्र लिन निर्मल निवासले अस्विकार गरेको थियो। गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख ९३ हजार बराबरको जरिवाना तोकेको छ।
कार्यालय बिदाका दिन अर्थात शनिवार जरिवाना तय गरेपछि महानगरको प्रहरी टोली आज बिहान निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले सो पत्र लिन अस्विकार गरे पछि यसै फर्किएको महानगरको प्रहरी टोलीले हुलाकमार्फत जरिवाना पत्र पठाएको हो।