पूर्वराजाको स्वागतमा आज राजावादीहरुले शक्ति प्रदर्शन गर्दै, काठमाडौंको सुरक्षा व्यवस्था कडा
Mayorsap
आइत, फागुन २५, २०८१ | ०८:४९ बजे

काठमाडौं । पूर्वराजा आज पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरुले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराहन्न काठमाडौं आउन लागेका छन् । यसै अवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईँले काठमाडौंमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।
पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुँदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।
सरकारले आजको राजवादीहरुको शक्ति प्रदर्शनमा विशेष नजर राख्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ । आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुनसक्ने आकलन रहेको गृह स्रोतले जानकारी दिएको छ ।