रिंकु मृत्यु प्रकरण : १० अभियुक्त पक्राउ, चार कसुरमा अनुसन्धान हुँदै
Mayorsap
बुध, फागुन २८, २०८१ | १७:५८ बजे

काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।
१३ फागुनमा सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका ८४ वर्षीय चन्द्रेश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दासलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले अहिलेसम्म १० जना अभियुक्त पक्राउ गरेको छ ।
उनीहरू पक्राउ परेको एक सातापछि २१ फागुनका घटनाका मुख्य अभियुक्त रुपेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले पक्राउ गरेको थियो । भारतीय प्रहरीको सहयोगमा उनलाई भारतबाट पक्राउ गरेर सिरहा ल्याइएको थियो । त्यसपछि पनि थप ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० रमेश पण्डितले बताए ।
उनीहरूसँगै पक्राउ पर्नेमा वडा सदस्य नथुनी साह, रामकृपाल साह, विन्देश्वर साह, राजेन्द्र मण्डल, रामदेव सदाय र करिया मुसहरलाई पक्राउ गरिएको एसपी पण्डितले बताए ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
रिंकुको मृत्युको पछाडि सामूहिक बलात्कारको आरोपदेखि घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप लागेको छ ।
आमा र एक भाइका साथ बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।
६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी उनै रिंकु त्यसको चार दिनपछि ३० माघ साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
मृत्युअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको खुलेको थियो । न्यायका लागि भन्दै २९ माघमा गाउँ–समाजमा रिंकुको परिवारले छलफलका लागि डाकेका थिए ।
यो विषयमा मिलापत्र गर्न भन्दै अहिले हिरासतमा रहेका रुपेश मण्डललाई १ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको थियो । तर यो निर्णयलाई पीडित परिवारले स्वीकार गरेनन् । त्यतिबेला वादविवाद समेत भएको थियो । अर्कोतर्फ रुपेशका बुवा देवानाथ मण्डलले समेत १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णयमा सहमति जनाएनन् ।
३० माघमा फेरि पञ्चायती सभा डाकिएको थियो । त्यतिबेला नै रिंकुले रुपेशका साथै अन्य दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै बयान दिएकी थिइन् ।
पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् । प्रहरी अनुसन्धानका क्रममा पनि घटना सामसुम पार्न पञ्चायती बसेको पुष्टि भएको थियो ।
तीन अभियुक्त अझै फरार
रिंकुको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगे पनि अझै तीन जना पक्राउ पर्न बाँकी नै छन् । उनीहरू सबै भागेर सीमा पार (भारत) पुगेको प्रहरीको भनाइ छ ।
अभियुक्तहरू भागेर भारत पुगेका पाइएपछि प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर खोजी गरिरहेको छ । ‘भारतका विभिन्न स्थानमाहरूमा ठाउँ परिवर्तन गर्दै बस्ने गरेको सम्म सूचना पाएका छौं । जतिसक्दो चाँडो नियन्त्रणमा लिन्छौं । पक्राउको प्रयास भइरहेको छ,’ एक अनुसन्धान अधिकृतले भने ।
खुला सीमा भएका कारण उनीहरू घटना सार्वजनिक हुने बित्तिकै भागेर भारत पुगेको प्रहरीको भनाइ छ । मुख्य अभियुक्त रुपेश मण्डल पक्राउ परेका घटनाको यर्थाथ विवरणहरू सार्वजनिक हुनसक्ने प्रहरीको विश्वास गरेको छ ।
रिंकुले आफूमाथि तीन जनाले बलात्कार गरेको बताएकी थिइन् । जसमध्ये एक व्यक्ति अहिले हिरासतमा रहेका रुपेश हुन् भने बाँकी दुई (टिंकु मण्डल र चन्दन साहेलाल) सहित तीन जना भने अझै फरार छन् ।
चार कसुरमा अनुसन्धान
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले चार कसुरमा अनुसन्धान सुरु गरेको छ । जसमा हत्या अर्थात् कर्तव्य ज्यानसम्बन्धी कसुर, जबरजस्ती करणीको कसुर, आत्महत्या दुरुत्साहनको कसुर र मिलापत्र गर्न वा गराउन नहुने कसुुरमा अनुसन्धान सुरु गरिएको छ ।
सिरहाका एसपी पण्डितका अनुसार चार कसुरमा जाहेरी आएकाले अहिले चार कसुरमै अनुसन्धान भइरहेको छ । मुद्दा दर्ता हुने बेलामा भने तलमाथि हुनसक्ने बताइएको छ ।
बलात्कारको आरोप लागेपछि पञ्चायत बसेर मिलापत्र गराउन खोजिएकाले मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २२७ को (क) अनुसारको कसुरमा पञ्यात बस्नेहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।
दफा २२७ को (क)मा बलात्कार सम्बन्धी कसुुर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसुरमा उजरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसुर गर्ने व्यक्ति, पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन पा प्रभावमा पार्न नहुने उल्लेख छ ।
यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । पक्राउ परेका प्रतिवादीको भूमिकाअनुसार फरक फरक कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।