पुटिनका सहयोगीले गरे युद्धविरामको प्रस्ताव अस्वीकार
Mayorsap
बिही, फागुन २९, २०८१ | १९:५१ बजे

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्रेनको लागि अस्थायी राहत बाहेक केही नभएको टिप्पणी गरेका छन् । साउदी अरबमा अमेरिका र युक्रेनबीच युद्धविरामको सहमति भएपछि रुसको तर्फबाट आएको यो पहिलो अभिव्यक्ति हो । उनले प्रस्ताव अस्वीकार गर्दै भने, ‘यो युक्रेनी सेनाको लागि अस्थायी आराम र पुनः संगठित हुने मौका बाहेक अरू केही हुनेछैन ।
उशाकोभले रूसले युक्रेनमा मस्कोको हित र चासोलाई ध्यानमा राख्ने दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए । उनले रुस र अमेरिकाबीच शान्तिपूर्ण रूपमा वार्ता भइरहेको पनि जानकारी दिए ।यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ र ट्रम्पले अब रुसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन् । यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सैनिक पोशाक लगाएर युद्धग्रस्त क्षेत्र कुर्स्क क्षेत्रको भ्रमण गर्दै युद्धविराम नमान्ने संकेत गरेका थिए ।