यौन उत्पीडनको आरोप लागेका पूर्व कोरियाली सांसदको शङ्कास्पद मृत्यु


सोल । यौन दुर्व्यवहारको आरोप लागेका दक्षिण कोरियाका पूर्व सांसदको शङ्कास्पद परिस्थितिमा मृत्यु भएको छ । पूर्व सांसद चाङ्ग जे–वोन सोलमा मृत फेला परेको प्रहरीले मंगलबार जनाएको छ ।
उनीमाथि २०१५ मा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । सोमबार राति राजधानीको पूर्वी भागमा रहेको एक स्टुडियोमा चाङ मृत फेला परेको सोल महानगरीय प्रहरी एजेन्सीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा एउटा नोट फेला पारेको छ । उनको मृत्युबारे अनुसन्धान जारी रहेको भन्दै प्रहरीले थप जानकारी दिएको छैन । चाङले लामो समयसम्म राजनीतिमा जमेर बसेका थिए । कन्जरभेटिभ दलबाट तीन कार्यकालसम्म उनी सांसद पनि भए ।
उनी महाभियोग लगाइएका राष्ट्रपति युन सुक येओलका प्रमुख सहयोगी पनि थिए । उनीमाथि २०१५ को नोभेम्बरमा होटलमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । त्यतिबेला उनी बुसानको एक विश्वविद्यालयमा उपाध्यक्ष थिए ।
चाङले गत महिना फेसबुक पोस्टमा आफूमाथिका आरोपहरू अस्वीकार गरेका थिए । उनले यसलाई एकतर्फी दाबी भनेका थिए । आफ्नो सम्मान जोगाउन कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि उनले जनाएका थिए । यसैबिच, महिलाका वकिल किम जे–र्युनले चाङको मृत्युको खबर आएपछि मंगलबार हुने भनिएको पत्रकार सम्मेलन रद्द गरेका छन् ।