Ad Image

'चेनअफ कमान्ड'को उल्लंघनमा महानगरीय प्रहरी प्रमुखलाई होला त कार्बाही ?

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743697845.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा नगर प्रहरीले अवरोध गरे । पटक–पटक कार्यालयको आदेश भन्दै नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोलीले गुरागाईँलाई रोक्न खोजेपनि सफल भएन । 
  
उप–मेयर सुनिता डङ्गोलसहित केही वडाध्यक्षहरु र महानगरका कर्मचारी मिलेर गुरागाईँलाई हाजिर गराए।  उनले चेनअफ कमाण्ड अनुसार कार्यालयको आदेशमा नगर प्रहरी सुरक्षामा खटिएको दाबी गरे।

 

पाण्डेले कार्यालयको आदेश भने पनि काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी ऐन अनुसार उनको चेन अफ कमान्डको सबैभन्दा माथिल्लो तह नै प्रमुख प्रशासकीय अधिकृत हो। चेन अफ कमान्डमा मेयर र उप–मेयर पर्दैन ।  
 

महानगर प्रहरी ऐनको दफा ५ मा रहेको महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुने र निजको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने उल्लेख छ ।
 

त्यसैले आफ्नो हाकिमलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेमाथि कारवाही होला कि नहोला भन्ने सर्वत्र चासो र चर्चा छ । यो अवस्थामा उनको जागिर जाने या नजाने, उनीमाथि कस्तो कारवाही गर्ने भन्ने विषय प्रमुख प्रशासकीय अधिकृतको हातमा निहीत छ । 

 

ऐनले महानगर प्रहरी नायव उपरीक्षकभन्दा माथिल्ला तहका प्रहरी अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतले कारवाही गर्न सक्ने अधिकार दिएको छ । विशेष सजाय गर्नुपर्ने अवस्था आएमा भने प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा कार्यपालिकाले गर्ने उल्लेख छ । 

 

प्रहरीलाई सजायको आदेश दिनुअघि उसलाई अभियोगसहितको स्पष्टीकरण सोधेर सफाइको मौका दिनुपर्ने ऐनमा उल्लेख छ । सजाय गर्ने अधिकारीले आवश्यक ठानेमा सजाय गर्नुअघि जाँचवुझ गराउन सक्ने र सो अवधिभर निलम्बनसमेत गर्न सक्ने अधिकार ऐनले दिएको छ । यस्तो जाँचबुझ सजाय गर्ने अधिकारी (प्रमुख प्रशासकीय अधिकृत स्वयं) या अन्य अधिकृतमार्फत पनि गराउन सकिने व्यवस्था छ ।

 

कानुनले दिएको यही अधिकार प्रयोग गरेर प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले प्रहरी प्रमुख राजु पाण्डेले चेन अफ कमाण्ड उल्लंघन गरेको अभियोगमा जाँचवुझ समिति बनाइ या आफैले जाँचवुझ गरिरहेको भनेर तत्काल निलम्बन गर्न र कारवाही प्रक्रिया अघि बढाउन सक्ने देखिएको छ ।