Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भोजपुरको मानेभञ्याङमा ‘तरकारी सिकाई केन्द्र’ स्थापना

गाउँपालिकाको १० लाख बजेटमा पाँच वडामा तरकारी सिकाई केन्द्र स्थापना

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत २० गते ११:३१
Image of storage/news/1743831969.jpg

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङमा तरकारी सिकाई केन्द्र स्थापना गरिएको छ । किसानलाई तरकारीलगायत विभिन्न कृषि उपजको आधुनिक खेती प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान प्रदान गर्न सिकाई केन्द्र स्थापना गरिएको हो ।

 

गाउँपालिका र वडाको सक्रियतामा स्थापना गरिएको सिकाई केन्द्रमार्फत किसानलाई नविनतम् खेती प्रणालीको विषयमा जानकारी दिने कार्य भइरहेको वडाध्यक्ष जगत चौहानले बताए । सिकाई केन्द्रमा गोलभेडा, अकबरे खुुर्सानी, काउली बन्दा, धनियाँ, मेथी, बैगुनलगायत नगदेबालीको व्यावसायिक र आधुनिक खेती प्रणालीको बारेमा किसानलाई अभ्यासमूलक सीप प्रदान गर्ने काम गरिएको वडाध्यक्ष चौहानको भनाइ छ ।

 

“हामीले कृषि सिकाई केन्द्र स्थापना गरेर किसानलाई आवश्यक ज्ञान सीप प्रदान गरिरहेका छौँ”, वडाध्यक्ष चौहानले भने, “किसानमा खेती प्रणालीसम्बन्धी ज्ञान नहुँदा धेरै समस्या छ । कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा यहाँका काम हुने भएको किसानलाई नविनतम् खेती प्रणालीको विषयमा ज्ञान लिन सहज छ ।” यहाँ करिब साढे पाँच रोपनी क्षेत्रमा सिकाई केन्द्र स्थापना गरी विभिन्न जातका तरकारीको नमूनाखेती गरिएको छ ।

 

तरकारीखेती गर्न इच्छुक किसानले यहाँ आएर ज्ञान, सीप लिँदै आएका छन् । सिकाई केन्द्र स्थापनाले व्यावसायिक र आधुनिक खेती गर्न धेरै ज्ञान प्राप्त गर्ने अवसर मिलेकोको स्थानीय किसान दलबहादुर खत्रीले बताए ।

 

“यहाँका करिब साढे पाँच रोपनी क्षेत्रमा नमूना तरकारीखेती भइरहेको छ” किसान खत्रीले भने, “हामीले तरकारी बालीमा लाग्ने रोग, कीरासँगै आधुनिकखेती प्रणालीको बारेमा जानकारी नहुँदा समस्या थियो । अहिले सिकाई केन्द्रमा आएर आवश्यक जानकारी लिन पाएका छौँ ।”

 

मानेभञ्याङमा किसानलाई आधुनिक कृषि प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान प्रदान गर्नको लागि रु दुई लाखको लागतमा तरकारी सिकाई केन्द्र स्थापना गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख धीरज ठाकुरले बताए । सिकाई केन्द्रबाट आधुनिक खेती प्रणालीसँगै जैविक मल, विषाधिको प्रयोग तथा बनाउनेको लागि समेत ज्ञान दिइएको उनको भनाइ छ ।

 

गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेर यो वर्ष पाँच वटा वडामा तरकारी सिकाई केन्द्र स्थापना गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । एक वडा एक सिकाई स्थापना गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । 

 


Facebook Comments