ललितपुरका पत्रकारलाई विपद् व्यवस्थापन तालिम प्रदान


ललितपुर । ललितपुरमा शुक्रबार विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ३ को सहयोग तथा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको समन्वयमा स्थानीय पत्रकार तथा युवाहरुलाई तालिम दिइएको हो ।
स्थानीय पत्रकार तथा युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम आयोजना गरेको महासंघको जिल्ला शाखाले जनाएको छ। तालिममा भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपातजस्ता प्राकृतिक प्रकोपहरुबाट हुने हानी नोक्सानी र जोखिम कम गर्ने सम्बन्धमा छलफल भएको थियो।
तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले विपदमा सुरक्षित रहेर समाचार संकलनका लागि ज्ञान र सीप प्रदान गर्ने अभिप्रायले तालिम आयोजना गरेको बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले पत्रकार समाजको ऐना भएको बताउँदै राज्यले राम्रो र उत्कृष्ट पत्रकार उत्पादन गर्न पर्याप्त लगानी गर्न सक्नुपर्ने बताइन् । उनले भनिन् “पत्रकारको उचित पारिश्रमिक र सेवासुविधाका साथै क्षमता अभिवृद्धिको व्यवस्था गरिनुपर्छ, कानुनी रुपमा नै नीतिगत व्यवस्था गरेर पत्रकारितामा उत्प्रेरित गर्न राज्यले ध्यान दिनुपर्छ, बागमती प्रदेशमा नीतिगत योजना बनाउँदै गर्दा हामी यी विषयहरुलाई सम्बोधन गर्न ध्यान दिनेछौं । पत्रकारहरुलाई सक्षम र सबल बनाउन योगदान दिने कुराले समाजलाई सकरात्मक दिशामा लैजान सहयोग पुग्छ । विपदको विषयमा केन्द्रीत यस तालिमले नयाँ उर्जासहित पत्रकारहरुमा सीप र दक्षता हासिलमा सफलता प्राप्त हुनेछ।’
उनले पत्रकारहरुलाई विपद न्युनिकरण सम्बन्धी तालिम समय परिस्थिति अनुसारको कार्यक्रम भएको भन्दै जोखिम मोलेर विपदको समयमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने पत्रकारले आफूलाई सुरक्षित राखेर काम गर्न ज्ञान सीप हासिल गर्ने विश्वास व्यक्त गरिन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपदको जोखिम न्युनिकरण सबैको साझा दायित्व भएको बताउँदै पत्रकारिता क्षेत्रको भूमिका प्रभावकारी हुने बताए । गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराज (राज) घिमिरेले विपदको समयमा सचेत नहुँदा ज्यान नै जान सक्ने बताए । उनले यो तालिमले पत्रकारलाई विपदको समयमा सुरक्षित रहेर समाचार सम्प्रेषण गर्दै जनतालाई सुसूचित गराउन सफल बनाउने विश्वास व्यक्त गरे ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सुरक्षालाई पहिलो प्राथमिकता दिएर पत्रकारिता गर्न प्रेरित गर्न यो तालिम प्रभावकारी हुने बताए । सशस्त्र प्रहरी बल दक्षिणकाली गण सातदोबाटोका प्रहरी उपरीक्षक (एसपी) राजेश लामिछानेले नागरिकको सुरक्षाका लागि विपदमा प्रभावकारी काम गर्न यो तालिमले ज्ञान, सीप र दक्षता प्रदान गर्ने बताए ।
कार्यक्रममा पूर्व चेतावनी प्रणाली, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, समावेशी विपद जोखिम न्यूनीकरणलाई विकास प्रक्रियामा मुल प्रवाहीकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि अन्तर स्थानीय तह सहकार्य, विपद् पूर्व तयारी र प्रतिकार्य योजना, विपद् जोखिम व्यवस्थापनका मानवीय सिद्धान्तहरु, मुलभुत मानवीय मापदण्ड र लैंगिक समानता र सामाजिक समावेशीकरण, खुल्ला क्षेत्रहरुको पहिचान र संरक्षण तथा शिविर समन्वय तथा शिविर व्यवस्थापन, जोखिमको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कार्ययोजनाहरुको मार्गचित्रको बारेमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।