टी–२० आई सिरिजः नेपालले कुवेतलाई ६ विकेटले हरायो


काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा आज नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्लले ४ रन मात्रै जोड्न सके ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १/१ विकेट हात पारे । यसअघि बुधबार नेपालले कतारलाई पराजित गरेको थियो । लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छ ।