Ad Image

बूढानीलकण्ठ नगरपालिकासँग कर्णालीका चार पालिकाको शैक्षिक समझदारीमा सम्झौता

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744293764.jpeg

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले कर्णालीका दुई जिल्लाका चार पालिकासँग शैक्षिक समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।


जाजरकोटको कुशे गाउँपालिका र ठूलीभेरी नगरपालिका तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा शैक्षिक समझदारीपत्रमा हस्ताक्षर भएको बूढानीलकण्ठका शिक्षा महाशाखाका प्रमुख उपसचिव ललितविक्रम सिंहले जानकारी दिए । उनका अनुसार बुधबार डोल्पाका दुई स्थानीय तह र आज जाजरकोटका दुई स्थानीय तहसँग शैक्षिक क्षेत्रको सुधार तथा विकासका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।


त्रिपुरासुन्दरी नगरपालिकाका तर्फबाट प्रमुख जनचन्द्र रोकाय, शे–फोक्सुण्डो गाउँपालिकाका तर्फबाट अध्यक्ष धावासम्दुक गुरुङ र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । जाजरकोटको भेरी नगरपालिकाका तर्फबाट उपप्रमुख सीता जैसी, कुशे गाउँपालिकाका तर्फबाट देवीका सिंहले हस्ताक्षर गरेका थिए । बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगरप्रमुख अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


दुई जिल्लाका चार स्थानीय तहको शैक्षिक क्षेत्रको विकास तथा एकअर्का पालिकामा भएका असल अभ्यासलाई अनुशरण गर्नेगरी प्रमुखहरूबीच समझदारी भएका सिंहले जानकारी दिए । यस प्रकारको समझदारीले दुर्गमका पालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।