तीनकुने घटनाबारे जवाफ लिन पूर्वराजालाई संसदमा बोलाउने प्रस्ताव


काठमाडौं । सांसदहरुले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाबारे जवाफ माग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउने प्रस्ताव गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा सांसदहरुले यस्तो प्रस्ताव गरेका हुन् ।
उनीहरुले तीनकुने घटनाका विषयमा पूर्वराजा ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर सोधपुछ गर्नुपर्ने बताएका छन् । बैठकमा कांग्रेस सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गर्न प्रस्ताव राखेका हुन् ।
सत्तारुढ दल नेकपा एमालेले पनि उक्त घटनाप्रति पूर्वराजा ज्ञानेन्द शाह जवाफदेही हुनुपर्ने बताएको छ । बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति समेतको पृष्ठभुमिमा तीनकुने घटना भएको आरोप लगाए ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाए ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावदी प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । घटनामा अर्बौंको निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।