मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

त्रिशूली

छेडागाड नगरपालिका

चौँरी महोत्सव

जलजला गाउँपालिका

राप्ती गाउँपालिका

आनन्दी सदाको आत्महत्या: प्रहरीको असहयोग, समाजको अपहेलना र श्रीमानको बेवास्ता

न्यास माग्न प्रहरीकोमा जाँदा पैसामा घटना मिलाउन ‘दबाव’

मुकेश कुमार यादव

बुध, बैशाख ३, २०८२ | १८:२१ बजे

सिरहा । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दौनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदाले मंगलबार आत्महत्या गरेकी छन् । सदा मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

 

सदाको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय, महेशपुर पतारले जनाएको छ । प्रहरीका अनुसार, घरमा कोही नभएको अवस्थामा उनले छानोमा सल बेरेर पासो लगाएकी थिइन् ।

 

सदाको आत्महत्याको खबर आएपछि आज (बुधबार) गृहमन्त्री रमेश लेखकले घटनाका सम्बन्धमा चासो राखे । उनले प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरेर घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन समेत दिए ।

 

यो घटना हुनुभन्दा चार महिनाअघि देखि सदा न्यायका लागि प्रहरीमा पुगेकी थिइन् । घटना भएको अढाइ महिनासम्म प्रहरीमा जाहेरी दर्ता भएन । चार महिनासम्म प्रहरीले आरोपिलाई पक्राउसम्म गर्न चाहेन । उता समाजका अगुवाबाट बारम्बार पैसा दिएर मिल्न दबाव आइरह्यो । विदेशमा भएका सदाका श्रीमान बोल्न छोडे । सदाको न्याय पाउने आश मर्यो । अनि मृत्यु रोजिन् । लाजमर्दो त के छ भने पीडितको मृत्युपछि बल्ल चार महिना अघिको घटनाको छानबिन गर्न गृहमन्त्री लेखकले चासो देखाए । 



 

के हो घटना ?
 

सदा गत पुस ९ गते बिहान सिरहाकै बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न जाँदै थिइन् । गाउँकै पोखरी हुँदै नर्गीतर्फ गइरहेकी सदालाई कसैले पछाडिबाट कपालमा समाएर तान्यो । उनी चिच्याइन् । उनी चिच्याएपछि एउटाले मुख थुन्यो र दुई जना भएर सय मिटर जति पर लगेर बलात्कार गर्ने प्रयास गरे ।  सदाले आफ्नो भए भरको बल प्रयोग गरिन्, युवकको पिठ्युमा टोकिन् र भाग्न सफल भइन् । सदालाई बलात्कार प्रयास गर्ने दुवै युवक स्थानीय २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव हुन् ।

मृतक सदाकी आमा भन्छिन्, ‘ दिदिको घर गएकी आनन्दी रुँदै घर आएकी थिइ । संजिव र श्यामसुन्दरले आफूलाई जबरजस्ती गर्न खोजेको र संजिवको पिठ्युँमा दाँतले टोकेर आफू त्यहाँबाट भागेर आएको उसले सुनाइ ।’

 

न्यास माग्न प्रहरीकोमा जाँदा पैसामा घटना मिलाउन ‘दबाव’

 

घटना भएकै दिन पीडित मृतक आनन्दी सदा र उनकी आमा नजिकैको सुनबर्षा प्रहरी बिटमा जाहेरी दिन गएका थिए । प्रहरीले जबरजस्तीकरणी प्रयासको मुद्दा यहाँ दर्ता नहुने भन्दै इलाका प्रहरी कार्यालय लक्ष्मिपुर पतारी जान सुझाव दिएको आनन्दीकी आमाले बताइन् । उनका अनुसार प्रहरीले एक पटक जाहेरी च्यातेर समेत फ्याँकेको थियो । जाहेरी दर्ता नगरे आफूहरु मिडियामा जाने भनेपछि फागुन २५ गते अर्थात घटना भएको अढाइ महिनापछि मात्र प्रहरीले उजुरी लिएको देखिन्छ । ‘हामीले जाहेरी दर्ताका लागि प्रहरीमा पटक–पटक गुहार्दा पनि दर्ता भएन । एक पटक त प्रहरीले जाहेरी नै च्यातिदियो,’ मृतक आनन्दीकी आमाले भनिन्, ‘तर, हामीले मिडियामा जाने तयारी गरेपछि मात्रै जाहेरी दर्ता गर्यो ।’


 

यसबीचमा पीडकको पक्षबाट केही स्थानीयले घटना गाउँमै मिलाउन प्रयास गरेको पनि खुलेको छ । पीडित अर्थात मृतक आनन्दीकी आमाले भनिन्, ‘गाउँकै नरेन्द्र यादवलगायतका केही व्यक्तिहरुले रकम लिएर गाउँमै मिलिहाल्न भनेका थिए । नमिले उल्टै मुद्दा लगाइदिने धम्की समेत दिए ।’

 

आरोपितहरुविरुद्ध फागुन २६ मा सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । तर, उनीहरूलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । आरोपितको घरमा प्रहरी पुग्ने गरेको भए पनि उनीहरु फेला नपरेको महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीले बताए ।

 

यस्तै, आरोपित पक्षबाट आफूहरुलाई फसाइको भन्ने कुरा आएपछि जाहेरी दर्ता गर्न समय लागेको मैनालीको जिकिर छ । ‘हामीकहाँ जाहेरी आएपछि आरोपितले फसाइएको कुरा गरे,’ मैनाली भन्छन्, ‘त्यसपछि अनुसन्धान गर्दा मुद्दा दर्ता गर्न समय लागेको हो ।’

 

मृतककी आमाका अनुसार, पीडकहरू गाउँमै बस्ने गरेको भए पनि प्रहरीले पक्राउ गर्न आनाकानी गर्दै आएको थियो । ‘हामीले न्याय माग्न प्रहरी कहाँ गयौं, तर प्रहरीले हामीलाई गन्दै नगनेको जस्तो व्यवहार देखाउँथ्यो,’ उनी सुनाउँछिन्, ‘दोषीलाई समाउन भन्दा पनि प्रहरीले हामीलाई नै उल्टा सिधा भन्थ्यो ।’

 

सदाको आत्महत्या: प्रहरीको असहयोग, समाजको अपहेलना र श्रीमानको बेवास्ता

 

न्याय दिन प्रहरीले गरेको ढिलासुस्ती र सामाजबाट हुने अपहेलनाका कारण आनन्दीले आत्महत्याको बाटो रोजेको मुसहर अगुवाहरु बताउँछन् । घटना भएको अढाइ महिनासम्म जाहेरी दर्ता नहुनु र चार महिनासम्म आरोपि पक्राउ नपर्दा आनन्दी चिन्तामा थिइन् । यहाँ प्रहरीले किन सदाको जाहेरी समयमै लिएन भन्ने प्रश्न उठेको छ । उता मृतक सदाकी आमाले पनि आफ्नी छोरी र ज्वाँइको पुनर्मिलन गराउन खोज्नु तर श्रीमान भने तर्किनुले आनन्दीलाई थप पीडा भएको घटनाक्रमबाट खुल्छ ।

 

बलात्कारको प्रयास भएको पीडा बोकेर प्रहरी कार्यालयमा जाँदा प्रहरीले उजुरी लिन नमान्नु, समाजमा आनन्दीलाई नै गलत देखाउने प्रयास गर्नु र विदेशमा रहेका श्रीमान नेपाल आएर पनि उनलाई सहयोग नगर्नु नै आनन्दीले मृत्युको बाटो रोज्नुपरेको तथ्यले देखाउँछ । समाजमा रहेका अगुवाहरुले बारम्बार पैसा देखाएर पीडित परिवारलाई पीडकसँग मिल्न दबाव दिनु, प्रहरीलाई अनुसन्धान गर्न प्रभाव पार्नु नै घटना घट्ने सबैभन्दा ठूलो कारण रहेको अहिले त्यहीँ समाजका अगुवाहरु स्वीकार्छन ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology