Ad Image

सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट दिइन् राजीनामा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744873235.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् ।


पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै उनले राजीनामा बुझाएकी हुन् । रास्वपा केन्द्रीय समितिको बिहीबारको बैठकमा सहमहामन्त्रीबाट श्रेष्ठले दिएको राजीनामाबारे छलफल हुने बताइएको छ ।


रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहमहामन्त्री श्रेष्ठले राजीनामा दिएको जानकारी दिए । संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले राजीनामा दिएकी तर स्वीकार भने भइनसकेको पार्टीले जनाएको छ ।


पछिल्लोपटक सभापति रवि लामिछानेले पार्टी पुनर्संरचना गर्ने भन्दै त्यसका लागि नेताहरूलाई तयार रहन भनेका थिए । सोही बेलादेखि श्रेष्ठले आफू पदबाट राजीनामा दिन र कानुन निर्माणमा क्रियाशील हुने बताउँदै आएकी थिइन् ।


श्रेष्ठले सभापति लामिछानेलाई १५ दिनअघि नै राजीनामा बुझाएकी थिइन् । तर, लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन ।


श्रेष्ठले आफ्नो राजीनामाबारे पार्टीका नेताहरूलाई भनेकी छन्, ‘रविजी सभापतिको रुपमा फर्कनु भएलगत्तै मेरो उहाँसँग योबारे कुरा भएको हो र मैले राजीनामाको पत्र पनि बुझाएकी हुँ । रविजीले पनि पार्टीलाई पुनर्संरचना गर्छु भन्ने विचार अघि सार्नुभएको र त्यो कुरा मेरो नेतृत्व विकासको अवधारणासँग मिलेको हुँदा मैले पदबाट राजीनामा दिएकी हुँ । रविजीले पनि यसलाई सकारात्मक रुपमा लिनुभएको थियो,’ श्रेष्ठले भनेकी छन्, ‘यसपछि एक सांसद्को जिम्मेवारी अझ सशक्त रुपमा निभाउन सक्छु भन्ने मेरो ठम्याई छ ।’

 

रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री छन् भने सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् ।