Ad Image

व्यास नगरपालिकास्थित मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745238597.png

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै छ । निर्माणमा संलग्न व्यवसायीको लापरबाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो ।


भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो। निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कविहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।


सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना अघि बढाइएको थियो। भदौ २०८० भित्र सम्पन्न गर्ने गरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताए। उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति छ।

   
"तीनपटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ," उनले भने, "व्यवस्थापक श्रेष्ठका अनुसार अमिली भञ्ज्याङमा चार लाख लिटर क्षमताको रिहर्भ ट्यांकी निर्माण गरिएको छ । १९ करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण कार्य अघि बढाइएको हो । "निर्माणमा ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भएको छ," उनले भने । व्यास–४, चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो ।


२०५६ सालमा उक्त खानेपानी संस्था स्थापना भएको हो । संस्थाले हालसम्म दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । व्यास–१३, करादी खिरखादी मुहानबाट ल्याएर पानी वितरण गरिँदै आएको छ । सो क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानी अभाव भएको हो । उक्त अभाव पूरा गर्न वैकल्पिक खानेपानीका रूपमा मादी नदी लिफ्टिङ खानेपानी योजना निर्माण अघि बढाइएको व्यवस्थापक श्रेष्ठले बताए ।