विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु


काठमाडौं । देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
कालिकोट, पलाता गाउँपालिका-२ लार्फा ठाटी डाँडास्थित सडकमा गएराति दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक मुगु खत्याड गाउँपालिका-५ कवा बस्ने २५ वर्षीय चन्द्र प्रकाश रोकाया, ट्याक्टरमा सवार कालिकोट पलाता गाउँपालिका-४ बस्ने २१ वर्षीय रविन्द्र वि.क, ३२ वर्षीया सदु बुढा र २६ वर्षीया अम्बा शाही रहेका छन् । दुर्घटना भएकाे ट्याक्टरकाे नम्बर नखुलेको प्रहरीले बताएकाे छ ।
त्यसैगरी,आइतबार साँझ काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-३ नयाँ गाउँस्थित सडकमा बा १८च९९५९ नम्बरको स्कारपियोको ठक्करबाट एक पैदलयात्रीकाे घटनास्थलमै मत्यु भएकाे छ । मृत्यु हुनेमा सोही नगरपालिका-४ बस्ने ५८ वर्षीय गोठे कामी रहेका छन् । हाल फरार स्कारपियो चालकको खोजी गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।
त्यस्तै, आइतबार बेलुकी पाल्पा, बग्नासकाली गाउँपालिका-४ मलेङस्थित सडकमा लु १ ज १७२४ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार स्याङ्जा कालिगण्डकी गाउँपालिका-१ बस्ने १८ वर्षीया एलीसा सारूको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ५ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि पठाइएको छ । जिप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी आइतबार साँझ धादिङ, बेनीघाटस्थित कृष्णभिर सडकबाट बा प्र ०२ ०२४ प ४०५४ नम्बरको मोटरसाइकल त्रिशुली नदीमा खस्दा एक मोटरसाइकल चालककाे घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली तीनपाटन गाउँपालिका-९ बस्ने २६ वर्षीय मिन बहादुर तामाङ रहेकाे प्रहरीले बताएकाे छ ।
सोमबार बिहान पर्सा, जगरनाथपुर गाउँपालिका-२ पाण्डेपुरस्थित सडकमा ग ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक व्यक्तीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका-२ बस्ने ३० वर्षीय बिहारी राम रहेकाे खुलेकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि एल.एस.न्यूरो अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे ५ छ ।