Ad Image

सर्‍यो कक्षा १२ को परीक्षा, वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745333826.jpg

काठमाडौं ।  यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय परीक्षा बोर्डले आज साँझ बैठक बसेर कक्षा १२ को परीक्षा ११ गतेदेखि सारेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
    
बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सारेर २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । आज बिहान बोर्डको बैठक बसेर निजामति कर्मचारी परिचालन गरेर भए पनि आउँदो बिहीबार ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । 
    
यद्यपि निजामती कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय बिबादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए ।

 

आजै साँझ बोर्डका अध्यक्ष शर्मासहितको टोली प्रधानमन्त्री केपी ओलीसँग बालुवाटार पुगेर छलफल गरेपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिनुभएको र सोही निर्देशनअनुसार बोर्डको बैठक बसेर परीक्षा सारेर वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 
    
यसअघि बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो । चैत २० गतेदेखि आफ्ना विभिन्न माग राखेर शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्दै शैक्षिक हडताल गरेपछि कक्षा १२ को परीक्षा प्रभावित बन्न पुगेको हो । 
    
यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापान एक परीक्षा केन्द्रसहित एक हजार ५९१ परीक्षा केन्द्र गरिएको छ । परीक्षाका लागि त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एकजना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिति जटिल बनेको भन्दै केहीदिन परीक्षा सार्न निर्देशन दिएका दिए ।  

 

आज बिहानमात्र परीक्षा बोर्डको बैठकले शिक्षक आन्दोलनका बाबजुद परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन गर्ने बताएको थियो । शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने विकल्पमा पनि सरकारको तयारी थियो ।