आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरू आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज-सरम पचाएर यस्ता आरोप लगाउँछन् भने ।
देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए । “झुुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन ।
हामीले देश बर्बाद बनाइरहेका छौँ ? हामीले कुनै अपराध गरिरहेका छौँ ?”, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, “आजकाल नीलो रङका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौँ ।”