हाँडीगाउँ भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास


काठमाडौँ । नरःदे (हाँडीगाउँ) स्थित भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन निर्माणका लागि आज शिलान्यास सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडा नं.५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले वैदिक विधिअनुसार जग पूजा गरी शिलान्यास गरेका हुन्।
शिलान्यासपछि उपप्रमुख डंगोलले सम्पदाको मूल्य कुनै पनि वस्तुसँग तुलना गर्न नसकिने बताउँदै मौलिक स्वरूपमा सम्पदा पुनरुत्थानमा महानगरले लगानी बढाइरहेको उल्लेख गरीन्। उनका अनुसार मूर्त, अमूर्त र अभिलेख सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महानगर निरन्तर क्रियाशील रहेको छ ।
वडाध्यक्ष प्रजापतीले हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरूपमा पुनःस्थापित गर्ने अभियानअन्तर्गत यो भवनको फल्चा निर्माण एउटा महत्वपूर्ण कदम भएको बताए।

प्लिन्थ एरिया ९४० वर्गफुट रहेको उक्त भवनको उचाइ ९.०४ मिटर हुनेछ, जसमा तीन तला हुनेछन् । भवनको ग्राउन्ड फ्लोरमा प्राङ्गण हुनेछ भने सडकतर्फ फल्चा निर्माण गरिनेछ । भवनभित्र बहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष र कार्यालय कक्षसहितका सुविधा रहनेछन् । यो भवन नेपाल मण्डलको परम्परागत वास्तुशैलीमा निर्माण गरिनेछ ।
भवन निर्माणको अनुमानित लागत करसहित रु. २ करोड ८४ लाख ८० हजार रहेको छ। सार्वजनिक खरिद प्रक्रियाबाट रु. १ करोड ७४ लाख ७९ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले २०८२ सालको चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।

हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठका अनुसार सो स्थानमा वि.सं. २०१९ सालदेखि पुस्तकालय सञ्चालनमा रहेको छ। भवनसँगै निर्माण हुने फल्चा भने स्थानीय ुपैँता खलू समूहले प्रयोग गर्ने गर्दछन्।
भवनको अगाडि भीमसेनको मन्दिर रहेको छ। स्थानीय लोककथनअनुसार महाभारतकालमा भीमसेनले किचक राक्षसलाई यहीँ वध गरेका थिए। जनतालाई फेरि दुःख नदेओस् भनेर भीमसेनले यही स्थानमा बसिरहेका थिए भन्ने जनविश्वास छ। टुँडालदेवी जात्राको एक दिन देवीले पनि त्यहीँ कुर्ने प्रचलन छ। जात्राका दिन देवीको खट मन्दिर छेउको चौबाटोमा राखिने गरिन्छ। यस क्षेत्रमै किचकको प्रतीकस्वरूप ठूलो ढुङ्गा पनि रहेको छ, जुन सडक विस्तारको क्रममा कहिलेकाहीँ सारिने गरिएको श्रेष्ठले जानकारी दिए।
