Ad Image

परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेलः परीक्षा बोर्ड लहानका प्रमुख र अधिकृतमाथि छानबिन सुरु

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746006896.jpeg

सिराहा । कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल गर्ने परीक्षा बोर्ड लहानका प्रमुख धनपति भेटवाल र शाखा अधिकृत चन्द्रदेव यादवमाथि छानबिन गर्न सुरु गरिएको छ । पैसा लिएर केन्द्र तोकेको विषयमा प्रमुख भेटवाल र शाखा अधिकृत यादवलाई राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले छानबिनका लागि केन्द्रमा तानेको हो ।

 

कर्मचारीहरुले परीक्षा केन्द्र निर्धारण गर्न अवैध रकम असुली गरेको विषयमा गत वैशाख १२ गते मेयरसाप डटकममा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि गत सोमबार नै उनीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले केन्द्रमा बोलाएको जनाएको छ। बोर्डका अनुसार उनीहरूमाथि विस्तृत छानबिन समेत सुरु भइसकेको छ ।

 

बोर्डले लहानस्थित कार्यालयमा भेटवालको ठाउँमा नयाँ प्रमुखका रूपमा संजय पाण्डेलाई पठाएको छ । पाण्डेलाई मंगलबार लहानको प्रमुखको जिम्मेवारी दिएर पठाइएको परीक्षा बोर्डले जनाइएको छ  ।

 

यसअघि परीक्षा बोर्ड लहानका कर्मचारीहरुले परीक्षा केन्द्र निर्धारणका नाममा सिराहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा जिल्लाका संस्थागत विद्यालयहरुसँग रकम असुल गरेको तथ्य बाहिरिएको थियो । उनीहरुले संस्थागत विद्यालयसँग ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुलेको र भनेकै ठाउँमा केन्द्र पारिदिएको विषयमा समाचार प्रकाशन भएसँगै छानबिन सुरु गरिएको छ । 

यसअघि मेयरसाप डटकममा प्रकाशन भएकाे समाचार:

कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेलः बोर्डकै कर्मचारी सोध्छन्–२ लाख छ ?