नीति तथा कार्यक्रम ‘सही छ’ भन्न आफ्ना सांसदहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भनेर ढुक्कका साथ भन्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
उनले विपक्षी दलको काम नै विरोध गर्ने भएकाले उनीहरुले नीति तथा कार्यक्रमको कुनै पनि बुँदालाई राम्रो नभनेको आरोप लगाए । उनले आफ्ना सांसदहरुलाई संसदमा बोल्ने विषयको बुँदा टिपेर लैजान सुझाव समेत दिएका छन् । संसदमा उठ्ने गलत कुराको तत्काल प्रतिवाद गर्न समेत तयरीका साथ बोल्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘एमालेको संसदीय दल आकारको हिसाबले मात्र ठुलो होइन, विचार र मुद्दाको हिसाबले समेत ठूलो हो । संसदमा बोल्नका लागि बुँदा लिएर गएमा कुनै कुरा छुट्दैन, ती बुँदालाई मज्जाले व्याख्या गर्न सजिलो हुन्छ । संसदमा तत्काल उठ्ने गलत कुरालाई प्रतिवाद गर्न पनि तयारीका साथ बोल्नुपर्छ।’
त्यसैगरी प्रधानमन्त्री ओलीले संसदमा बोलिएका गतल कुरालाई रेकर्डबाट हटाउन नहुने बताएका छन् । भावि पुस्ताले समेत आफ्ना पुर्खाले बोलेका कुरा थाहा पाउनुपर्ने भन्दै कुनै पनि कुरा रेकर्डबाट हटाउन नहुने बताएका हुन् ।