तपाईंलाई थाहा छ– कानको फोहोर अध्ययन गरेर रोग पत्ता लगाउन थाले वैज्ञानिकहरू
स्वास्थ्यका बारेमा कानको फोहोरले के खुलासा गर्न सक्छ?
Mayorsap
शनि, बैशाख २०, २०८२ | १३:३२ बजे
एजेन्सी । अल्जाइमरदेखि क्यान्सरसम्म, कानको फोहोरले मानव स्वास्थ्यमा भएका महत्वपूर्ण अवस्थाहरूबारे जानकारी दिने वैज्ञानिकहरूकाे दावी छ । अहिले वैज्ञानिकहरू यसमा भएका रासायनिक तत्वहरू विश्लेषण गरेर रोग पत्ता लगाउने नयाँ तरिका खोजिरहेका छन्।
कानकाे फाेहाेर सुन्तला रंगको हुन्छ, चिप्लो हुन्छ र सभ्य संवादमा यो वस्तुकाे चर्चा गर्न मानिसहरू चाहँदैनन् । तर पनि वैज्ञानिकहरूको ध्यान अहिले यसैतर्फ केन्द्रित हुँदै गएको छ। उनीहरू क्यान्सर, हृदय रोग, मधुमेहजस्ता मेटाबोलिक समस्या लगायतका स्वास्थ्य अवस्थाहरू बुझ्न कानको फोहोर (cerumen) को अध्ययन गरिरहेका छन् ।
कानकाे फोहोर दुई प्रकारका ग्रन्थीहरू— सेबेसियस र सेरुमिनस —बाट निस्किने स्रावको मिश्रण हो, जुन बाह्य कान मार्गको भित्तामा हुन्छ। त्यसमा रौं, मरेका छाला, र अन्य शारीरिक कणहरू मिसिएर एउटा चिप्लो पदार्थ बन्छ, जसलाई हामी नेपालीमा कानेगुजी पनि भन्छाैं ।
एक पटक कानभित्र कानेगुजी बनेपछि यो पदार्थ छालाका कोषहरू सँग सँगै दैनिक करिब १/२० मिमि गतिले बाहिरतर्फ धकेलिन्छ। यसको मुख्य काम के हो भन्नेमा मतभेद छन्, तर सामान्यतः यसले कान सफा राख्ने र स्नेहन गर्ने काम गर्छ भन्ने मानिन्छ। साथै, कानकाे फाेहाेरले जीवाणु, ढुसी, कीरा जस्ता अवाञ्छित तत्वहरूलाई शरीरभित्र पस्न नदिने प्राकृतिक जालको रूपमा पनि काम गर्छ।
वैज्ञानिकहरूको अनुसन्धानमा शरीरबाट निस्कने अन्य शारीरिक तरलहरूकाे तुलनामा कानेगुजीमा खासै ध्यान गएकाे थिएन। अहिले भने परिस्थिति बदलिँदैछ।
उदाहरणका लागि, युरोपेली वा अफ्रिकी मूलका धेरै मानिसहरूमा कानबाट पहेंलो वा सुन्तला रंगको चिप्लो फोहोर निस्कन्छ, जसलाई 'wet earwax' भनिन्छ। तर ९५% पूर्वी एसियालीहरूमा 'dry earwax' हुन्छ, जसको रंग खैरो र बनावटी सुख्खा हुन्छ। यो भिन्नता ABCC11 नामक जीनका कारण हुन्छ भन्छन् वैज्ञानिकहरू, जुन जीन 'काँखीमा आउने गन्ध' सँग पनि सम्बन्धित छ। वैज्ञानिकहरूका अनुसार यो जीनको विशेष प्रकार भएका करिब २% व्यक्तिका काखीबाट गन्ध निस्कँदैन।
तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको — कानको यो फोहोरले स्वास्थ्य कस्ताे छ भन्ने जानकारी प्रदान गर्छ । सन् १९७१ मा युनिभर्सिटी अफ क्यालिफाेर्निया सनफ्रान्सिस्काेका प्रोफेसर निकोलस एल. पेत्राकिसले अमेरिकामा बसोबास गर्ने 'wet earwax' भएका गोरा, अफ्रिकी-अमेरिकी र जर्मन महिलाहरूको स्तन क्यान्सरबाट मृत्यु हुने सम्भावना, 'dry earwax' भएका जापानी र ताइवानी महिलाहरूभन्दा चार गुणा बढी हुने देखाएका थिए ।
सन् २०१० मा टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले क्यान्सर भएका २७० जापानी महिलाहरू र २७३ स्वस्थ महिलाहरूको रगत परीक्षण गर्दा क्यान्सर भएका महिलामा 'wet earwax' हुने जीनको सम्भावना ७७% बढी थियो। तर यो निष्कर्ष विवादास्पद छ। जर्मनी, अष्ट्रेलिया, र इटलीका अध्ययनहरूले यस्तो सम्बन्ध पत्ता लगाएका छैनन्।
तर केही रोग र अवस्थाहरूमा कानको फोहोरमा पाइने रासायनिक तत्वहरू निकै उपयोगी प्रमाणित भएका छन्। उदाहरणस्वरूप, 'Maple Syrup Urine Disease' नामक दुर्लभ रोग, जसमा शरीरले केही एमिनो एसिड पचाउन सक्दैन, यसको लक्षण हो — पिसाबबाट मेपल सिरपको गन्ध आउनु। यो रोग भएका व्यक्तिको कानको फोहोरमा पनि सोतोलोन (sotolone) केमिकलकाे गन्ध आउने अणु पाइने बताउँछन् वैज्ञानिकहरू। अर्थात्, कान सफा गरेर नै रोग पत्ता लगाउन सकिन्छ भन्ने विषयमा वैज्ञानिकहरू लागेकाे छन् ।
कोभिड–१९ काे समेत जानकारी कानको फोहोरबाट पत्ता लगाउन सकिने विश्वास वैज्ञानिकहरूकाे छ । यस्तै, टाइप १ वा टाइप २ मधुमेहको पनि जानकारी कानकाे फोहोरबाट मिल्न सक्ने अनुमान वैज्ञानिकहरूकाे छ। प्रारम्भिक अनुसन्धानले हृदय रोग समेत कानकाे फाेहाेरबाट पत्ता लगाउन सकिने देखाएकाे छ।
मेनेइर्स रोग र नयाँ आशा
‘Ménière’s disease’ भन्ने आन्तरिक कानको रोग चक्कर लाग्ने, बान्ता हुने र सुनाइ घटाउने समस्या हाे। वैज्ञानिक राबी एन मुसाहले आफ्नो टिमसँगै पहिलो पटक यस रोग भएका बिरामीको कानको फोहोरमा तीन प्रकारका फ्याटी एसिडको मात्रा निकै कम पाएकी थिइन । मुसाह भन्छिन्, "हामी रक्त वा पिसाबबाट सजिलै पत्ता नलाग्ने विशेष गरी दुर्लभ रोगहरूको विषयमा कानको फोहोरजस्ता तरलहरूको अध्ययनमा केन्द्रित छौं।"
क्यान्सर पत्ता लगाउने ‘सेरुमेनोग्राम’
ब्राजिलका प्रोफेसर नेल्सन रोबर्टो अन्तोनियोसी फिल्हो भन्छन्— 'कानको फोहोर शरीरभित्रका जैविक प्रतिक्रिया र मेटाबोलिजमको अवस्था दर्शाउने ‘मिरर’ हो।' उनको प्रयोगशालाले अन्य तरलहरूमध्ये कानको फोहोरमा रासायनिक तत्वहरू बढी घनत्वमा पाइएकाे देखाएको छ ।
२०१९ मा प्रोफेसर नेल्सन रोबर्टो अन्तोनियोसी फिल्होले आफ्नो टिमसँगै ५२ जना क्यान्सर (लिम्फोमा, कार्सिनोमा वा ल्युकेमिया) बिरामी र ५० जना स्वस्थ व्यक्तिबाट कानको फोहोर सङ्कलन गरे। उनीहरूले २७ यस्ता रासायनिक अणुहरू फेला पारे जुन क्यान्सर भएका र नभएका व्यक्तिबीच फरक चिन्ह (fingerprint) जस्तो देखिन्थ्यो। १००% नतिजा सटिक देखिएको थियो — तर क्यान्सरको प्रकार छुट्याउन सकिएकाे थिएन ।
अहिले उनीहरू केही विशिष्ट अणुहरूमा केन्द्रित छन्, जुन केवल क्यान्सर कोशिका वा त्यसको प्रतिक्रिया स्वरूप मात्र बन्ने गर्छ। उनीहरूको प्रारम्भिक अध्ययनले भन्छ कि यो प्रविधिले ‘precancerous’ अवस्था — जहाँ कोशिका अझ क्यान्सर बनिनसकेको अवस्था — पनि पत्ता लगाउन सक्छ।
यदि क्यान्सर स्टेज १ मा पत्ता लाग्यो भने, ९०% रोगी उपचारबाट ठीक हुन सक्छन्। त्यसैले ‘सेरुमेनोग्राम’ ले भविष्यमा समयमै क्यान्सर रोक्न सक्ने ठूलो सम्भावना बोकेको छ। ब्राजिलको अमाराल कार्भाल्हो अस्पतालले यो विधि प्रयोग गर्न थालेको छ।
भविष्यको सम्भावना
वैज्ञानिक राबी एन मुसाहको टिम पनि कानको फोहोरको सामान्य रासायनिक प्रोफाइल के हो भनेर अनुसन्धान गरिरहेको छ। मुसाह भन्छिन्, "यो लिपिडयुक्त हुन्छ, र धेरै रोगहरू लिपिड मेटाबोलिजममा गडबडीका कारण हुने भएकाले यो उत्कृष्ट जैविक संकेतक हो।"
बेलायतको म्यानचेस्टर विश्वविद्यालयकी रसायन विज्ञ पर्डिटा बारान पनि कानको फोहोर राेग पहिचानका लागि संभावनायुक्त क्षेत्र हो भन्नेमा सहमत छिन्। "रक्तमा पानीलगायत घुलनशील तत्व हुन्छन्, तर कानको फोहोरमा चिल्लो पदार्थहरू हुन्छन्। यिनै तत्वहरू रोगको सुरुवाती संकेत दिने ‘canary in the coal mine’ हुन्," उनी भन्छिन्।
अबको दिनमा कानको फोहोर अत्यन्तै महत्त्वपूर्ण स्वास्थ्य संकेत बन्ने सम्भावना देखिएको छ। क्यान्सर, मधुमेह, अल्जाइमर, पार्किन्सन, र दुर्लभ रोगहरू समेत पत्ता लगाउन, चिकित्सकहरूले चाँडै नै 'कान जाँच' लाई नियमित परीक्षणको हिस्सा बनाउने दिन टाढा देखिँदैन ।
नोट-यो सामाग्री बीबीसीबाट अनुवाद गरिएको हो । अनुवादक: रामचन्द्र मिश्र