प्रिसा साहको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् । सभामुख घिमिरेले सोमबार प्रतिनिधिसभामा यस्तो रुलिङ गरेका हुन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएपछि सभामुखले यो संवेदनशील विषय भएको बताए । उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन दिए ।
सभामुखले रुलिङ गर्दै भने ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशीएका विद्यार्थीको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’