Ad Image

जथाभावी फोहोर गर्नेलाई सिद्धार्थनगर नगरपालिकाको जरिवाना

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746529570.jpg

रुपन्देही । केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका–१३ बैङ्करोडस्थित गुड हेल्थ फार्मेसी कारबाहीमा परेको छ । फार्मेसीबाट निस्कने फोहोरमैला जथाभावी फालेकाले नगरले पहिलो पटकका लागि रु पाँच हजार जरिवाना तिराएको हो ।


फार्मेसी सोही नगरको वडा नं ५ की वडा सदस्य किरणदेवी सुनारको हो । सुनारले आफैँले बनाएको नियम आफैँले उल्लङ्घन गरेपछि जरिवाना तिरे  । उनले भने, “फार्मेसी मेरो हो । फार्मेसीका कर्मचारीले गल्ती गरे । जरिवाना मैले तिरेकी छु ।”


नगरले जरिवाना लिन थालेपछि पछिल्लो समय वडा नं ५, १२ र १३ पहिलेको तुलनामा सफा भएको सुनार बताउँछिन् । उनले भनिन्, “नगरको जरिवाना अभियानले नगर सफा र सुन्दर हुन थालेको छ ।”


नगरपालिकाले फोहोरमैला, छाडा चौपाया, दर्ताबिना सञ्चालित ई–रिक्साको व्यवस्थापनमा कडाइ गरेको हो । पटक पटक आग्रह गरे पनि अटेर गर्नेलाई जरिवाना असुल गर्न सुरु गरेको हो । नगरले कार्यविधि नै बनाएर सबैलाई नियम पालना गराउने योजना बनाएको छ ।


फोहोरमैला जथाभावी फाल्नेहरु हालसम्म ११ जनालाई जरिवाना गराएको छ । जरिवानाबापत रु ५५ हजार राजस्व सङ्कलन गरेको छ । दर्ताबिना नगरमा सञ्चालित ई–रिक्सा चालक पनि कारबाहीमा परेका छन् । नगरले आफ्नो क्षेत्राधिकारमा पर्ने ई–रिक्सा दर्ता प्रक्रियाका लागि पटकपटक सूचना जारी गर्दा समेत अटेर गर्ने ३५ वटा ई–रिक्सा चालकबाट जरिवाना असुलेको छ ।


प्रतिचालक रु पाँच हजारकै दरले जरिवाना लिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । नगरको आग्रहलाई अटेर गरी सञ्चालन गरिरहेका ई–रिक्सा दैनिक पाँचवटाको हाराहारीमा कारबाहीमा पर्ने गरेको सूचना अधिकारी देव ज्ञवालीले बताए । गत महिना नगरको वडा नं ४ की नौ वर्षीया एक बालिका खेल्दै गरेको स्थानबाट हराइन् । हालसम्म ती बालिकाको अवस्थाबारे केही पत्ता लागेको छैन । ती बालिका ई–रिक्सामा चढेको देखिएको नगर उपप्रमुख उमा अधिकारीले बताए। उनले भने, “दर्ता नभएको रिक्सा भएकाले पत्ता लगाउन गाह्रो भयो । त्यसैले दर्ता अति आवश्यक छ ।”


हालसम्म ई–रिक्सा व्यवस्थापनका लागि नगरले कार्यविधि बनाएको छैन । हालसम्म नगरमा ६३५ वटा ई–रिक्सा दर्ता भई सञ्चालनमा छन् ।


त्यसैगरी, दुर्घटनाका कारकमध्ये छाडा चौपायालाई सडकमा जथाभावी छाड्नुलाई पनि मानिन्छ । समय नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत माघदेखि अभियान सञ्चालन गरेको हो । हालसम्म चार जनालाई चौपाया छाडा जथाभावी छाडेबापत रु सात हजारका दरले जरिवाना लिएको राजस्व शाखा अधिकृत कमलकान्त खनालले बताए । हालसम्म ११५ वटा मरेका गाई–गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले जानकारी दिए ।


स्थानीय सरकारले गरेको निर्णयबमोजिम पहिलो पटकका लागि सात हजार जरिवाना गराई फेरि छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको थियो ।