विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोपमा बेबिलोनका सञ्चालक पक्राउ

काठमाडौं । बाल यौन दुर्व्यवहारको आरोपमा बेबिलोन स्कूलका सञ्चालक पक्राउ परेका छन् । घटनामा प्रहरी अनुसन्धान जारी रहेको बेला पीडित पक्षले विद्यालय प्रशासनमाथि पीडकलाई जोगाउने प्रयास गरेको गम्भीर आरोप लगाएका छन्।
प्रहरी स्रोतका अनुसार, सञ्चालकले विगत केही वर्षदेखि छात्राहरूमाथि यौन दुर्व्यवहार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। मोरङ स्थायी घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा–९ मा बसोबास गरिरहेका ५४ वर्षीय टीकाप्रसाद सुवेदीविरुद्ध काठमाडौंको नयाँ बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता भएको थियो। प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरेर सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
पीडित बालिका हाल कक्षा १० मा अध्ययनरत रहेको र उनले उजुरी दिएपछि मात्र घटनाबारे सार्वजनिक भएको हो। पीडितको परिवारले विद्यालय प्रशासनले मेलमिलाप गर्न दबाब र उजुरी फिर्ता गराउन दबाब दिएको आरोप लगाएका छन् ।
‘स्कुलले हाम्रो छोरीलाई रेष्टिकेट गर्ने धम्की दिँदै आएको थियो। अहिले भने स्कूलको इज्जत जोगाउन मेलमिलाप गर भनेर आग्रह गरिरहेको छ,’ पीडित पक्षले बताए।
विद्यालय प्रशासनले भने हालसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। सामाजिक सञ्जालमा घटनाप्रति व्यापक आक्रोश देखिएको छ।