Ad Image

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूतको भेट

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746537739.jpg

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । यहाँस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत विभिन्न विषयमा महत्वपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाइएको छ । 

 

उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजरायलबीच मित्रता, सद्भाव, समझदारी तथा सहयोगपूर्ण सम्बन्ध कायम रहिआएको बताए। उनले दुई मुलुकबीच विभिन्न सम्झौताहरू भएका र केही प्रक्रियामा रहेका जानकारीमा आएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । 

 

उनले इजरायलमा उल्लेख्य सङ्ख्यामा महिला कामदारसहित चार हजार ५०० नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरूको तलब, बिमा, बिदालगायत सुविधा सुनिश्चित गराउने सन्दर्भमा इजरायल सरकारको सकारात्मक पहल अपेक्षित रहेको बताए ।

 

उपराष्ट्रपति यादवले नेपाल र इजरायलले संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा आपसी सहयोग र सहकार्य गर्दै आएकामा यसको निरन्तरतामा आफू विश्वस्त रहेको बताए ।नेपालका लागि इजरायलका राजदूत बासले दुई मुलुकबीच सहयोग र सहकार्य निरन्तर जारी रहने उल्लेख गर्दै इजरायलमा रहेका नेपाली कामदारहरूसँग भएको सम्झौताबमोजिम सुविधा पाए(नपाएकाबारे विभिन्न सङ्घसंस्थाहरूले अनुगमन गर्ने गरेको बताए ।