जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा बाधा आए आन्दोलन गर्ने सांसद झाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा कुनै पनि बाधा अवरोध आउन नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले रंगशाला निर्माणमा बाधा आए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
उनले क्रिकेट रंगशाला जनकपुरका युवाहरूको परिकल्पना भएको भन्दै कुनै व्यवधान आए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । जनकपुरमा क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर समेत सम्पन्न भइसकेको बताउँदै डीपीआर बनिसकेको परियोजना अगाडी बढाउन ढिलाइ गर्न नहुने बताए ।
सांसद झाले लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रंगशालाको डीपीआर तयार गरी साढे २ अर्बको लागतमा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना अघि बढेको बताएका छन् । खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर बढाएर ४९ लाख ६० हजार बढाएकोमा विरोध समेत जनाए ।