तीनकुने घटना : रविन्द्र मिश्रसहित २५ जनालाई ५ दिन थप म्याद

काठमाडौं । गत चैत १५ गतेको तीनकुने घटना प्रकरणमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २५ जनामाथि पाँच दिनको म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेका मिश्रसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
बिहीबार मिश्रसहित २५ जनाविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमामा उपस्थित गराएको थियो। उनीहरूविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप गरेको हो ।
अर्को आपराधिक उपद्रव कसुरमा मात्रै अनुसन्धान भइरहेका २७ जनामाथि भने सात दिनको म्याद थपिएको छ। अहिले तीनकुने घटनामा पक्राउ परेका ५२ जना जिल्ला प्रहरी परिसर काठमाडौंमा हिरासतमा छन्।