किन अस्वीकार गरे ३ वडाध्यक्षले बालेनले दिएको जिम्मेवारी ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएको जिम्मेवारी लिन ३ जना वडाअध्यक्षले अस्वीकार गरेका छन् । मेयर बालेनले जेठ १ गते सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समितिका संयोजक हेरफेर गरेका थिए ।
ती समितिका संयोजकमा पहिले रहेकाहरूको जिम्मेवारी खोसेर नयाँ ४ जना वडाअध्यक्षलाई संयोजक तोकेका थिए । नयाँ तोकिएकामध्ये तीनजना वडाअध्यक्षले यसअघि कार्यपालिका बैठकबाट जिम्मेवारी दिने गरेकोमा यसपटक मेयरको एकल आदेशमा दिइएको भन्दै जिम्मेवारी लिन अस्वीकार गरेका हुन् ।
मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन् ।
बालेनले सुशासन समितिको संयोजक तोकेका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राजभण्डारीले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन् । ३ जनाले सामूहिक निवेदनको बोधार्थ उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतलाई दिएका छन् ।
हेर्नुस् पत्र
विधायन समितिकी संयोजक तोकिएकी १६ नम्बर वडाकी अध्यक्ष रोजिना श्रेष्ठले भने उक्त निवेदनमा हस्ताक्षर गरेकी छैनन् । श्रेष्ठ रास्वपाबाट उपचुनावमा वडाध्यक्ष निर्वाचित भएकी हुन् । बालेनले आफ्नो आलोचना गर्ने वडाध्यक्षहरुलाई अघोषित रुपमा कारवाही गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा आफूविरुद्ध खुलेर उत्रिएकाहरुलाई उनले निशाना बनाएको वडाध्यक्षहरूको बुझाइ छ ।